प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ का ३ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् ।
भद्रपुर नगरपालिका– ८ स्थित मेची रंगशालामा रहेको मतदानस्थलका ३ मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए ।
‘यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ,’ प्रसाईले भने । उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती र सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे छन् ।
‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा विशेष नापी कार्यालय दमककी सृजना पन्त र सहायक मतदान अधिकृतमा जुनु पोखरेल तथा ‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल र सहायकमा प्रतिमा राई रहेको प्रसाईले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका ५ वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुलाई धमाधम निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको कार्यालय प्रमुख तुलसी नेपालले बताए । झापामा ७ लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल छन् । यहाँ ८१५ मतदान अधिकृतसहित ४ हजार ९३६ जना कर्मचारी खटाइएको छ ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ ।






































