पुस २९ गते साँझ घ्याङ्लेखस्थित एसबीआई बैंकमा भएको लुटपाटको खबर केही समयमै सर्वत्र फैलियो। सामाजिक सञ्जालमार्फत सूचना फैलिनासाथ सयौँ स्थानीय लुटेराको खोजीमा सक्रिय बने। लुटपाटपछि जंगलमा केही बोरा रकमसमेत फेला परे। तर बैंक लुटिएको खबर बाहिरिएसँगै बैंक रहेको घरका मालिक छबिलाल स्याङ्ताङमाथि स्थानीयको शंका केन्द्रित भयो। शंकाको कारण थियो उनको विगत।

स्थानीयका अनुसार बैंक लुटपाटको मुख्य योजनाकार स्वयं घरबेटी छबिलाल स्याङ्ताङ नै भएको पुष्टि भइसकेको छ। उनीमाथि बैंक मात्र होइन, ‘मान्छे पनि लुटेको’ गम्भीर आरोप लाग्दै आएको छ। शक्तिको आडमा उनी सधैँ अनुसन्धानको घेराबाहिर रहँदै आएको स्थानीयको गुनासो छ।

 २५ वर्षअघिको सेते लामा प्रकरण

करिब २५ वर्षअघि सेते लामा र छबिलाल स्याङ्ताङ घनिष्ठ साथी थिए। गाउँमा सँगै खेल्ने र सँगै हिँड्ने उनीहरूबीच राम्रो सम्बन्ध थियो। २०५८ साल चैत १७ गते स्थानीय काल्दुङ लामाको खर काट्न भन्दै छबिलाल स्याङ्ताङसँग गएका २२ वर्षीय सेते लामा त्यसपछि कहिल्यै घर फर्किएनन्।

सेते लामाको खोजी भइरहँदा उनको हत्या भइसकेको र शव गायब पारिएको जानकारी परिवारले पायो। हत्या प्रत्यक्ष देखेको व्यक्तिले नै परिवारलाई घटनाबारे जानकारी दिएको बताइन्छ। त्यसपछि परिवारले छबिलाल स्याङ्ताङसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिए पनि उक्त जाहेरी कहिल्यै दर्ता भएन। सेते लामाको परिवार आजसम्म पनि न्यायको खोजीमा भौँतारिँदै आएको छ।

घटना दबाउन थप दुई जनाको हत्या 

सेते लामाको हत्या भएको र आफूले रगतसमेत सफा गरेको प्रत्यक्षदर्शीको भनाइ सार्वजनिक भएपछि गाउँभरि घटना फैलिएको थियो। सेते लामा र छबिलाल स्याङ्ताङबीच प्रेम सम्बन्धसम्बन्धी विवाद चर्किएको चर्चा पनि थियो।

घटनाको सबै विवरण प्रहरीसमक्ष खुलाउने तयारी गरेका प्रत्यक्षदर्शीहरूका कारण केही वर्षपछि थप दुई जनाको समेत हत्या गरिएको स्थानीयको दाबी छ। ती घटनाहरू पनि योजनाबद्ध रूपमा दबाइएको आरोप लगाइन्छ।

एक प्रत्यक्षदर्शीलाई ‘पागल’ प्रमाणित गरियो

स्थानीयका अनुसार घटनाकी अर्की प्रत्यक्षदर्शी चतुरमान बज्युकी श्रीमती थिइन्। चतुरमान बज्यु हाल बैंक लुटपाट प्रकरणमा थुनामा छन्। उनकी श्रीमतीले सेते लामालाई मध्यरातसम्म गोठमा कुटपिट गरिएको, मृत्यु नभएपछि छातीमा छुरा हानी हत्या गरिएको र रगत आफूले सफा गरेको विवरण गाउँमा बताउँदै हिँडेकी थिइन्।

तर पछि दबाब र लेनदेनमार्फत प्रहरी कार्यालयमा उनको बयान परिवर्तन गराइएको र मानसिक सन्तुलन ठिक नभएको भन्दै उनलाई ‘पागल’ प्रमाणित गरिएको स्थानीयको आरोप छ। महिला समूहका अध्यक्षको मिलेमतोमा यस्तो गरिएको दाबी गरिन्छ।

आफ्नो ज्यानको खतरा महसुस भएपछि उनी केही समय माइत गएकी र पछि पुनः विवाह गरी हाल काठमाडौं क्षेत्रमा बसोबास गरिरहेको स्थानीय बताउँछन्। उनी आज पनि घटनाकी जीवित प्रत्यक्षदर्शी रहेको दाबी गरिएको छ।

पीडितलाई न्याय दिलाउन रामकाजीको संघर्ष

घ्याङ्लेख–१ का पूर्व वडाध्यक्ष रामकाजी वाइबाले सेते लामाका परिवारलाई न्याय दिलाउन वर्षौँसम्म हत्यासम्बन्धी फाइल बोकेर विभिन्न निकाय धाएको बताए। तर जाहेरी दर्ता नै हुन नसकेको उनको गुनासो छ।

उनका अनुसार त्यस समयमा अधिकांश स्थानीयलाई हत्या कसरी भयो भन्ने थाहा थियो। दोषी किटान गरिएका व्यक्तिहरूले सिन्धुलीस्थित जग्गा बेचेर आर्थिक चलखेलमार्फत घटना सामसुम पारेको पीडित परिवारको आरोप छ। राजनीतिक आड र पैसाको बलमा घटना दबाइएको उनीहरूको गुनासो छ।

‘लास र पोस्टमार्टम चाहिन्छ’ भन्ने प्रहरी

पीडित परिवारले पटक–पटक जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले घटनास्थल मुचुल्का, पोस्टमार्टम रिपोर्टलगायत प्रमाण माग्ने गरेको बताउँछन्। तर शव नै गायब पारिएकाले ती प्रमाण परिवारसँग छैनन्। प्रत्यक्षदर्शी जीवित रहँदासमेत उनीहरूको बयानका आधारमा अनुसन्धान अघि नबढेको पीडित परिवारको गुनासो छ।

पैसाले सबै दबाउन सकिन्छ भन्ने हिम्मत

द्वन्द्वकालमा भएका घटनाबाहेक यसरी संगठित रूपमा बैंक लुटिएको घटना विरलै देखिन्छ। बैंक लुट्न सानो हिम्मत पर्याप्त हुँदैन। जसरी पनि लुटेरा पत्ता लाग्छन् भन्ने जानकारी हुँदाहुँदै पनि पहिलेजस्तै पैसाको बलमा घटना दबाउन सकिन्छ भन्ने हिम्मतकै कारण बैंक लुटिएको हुनसक्ने स्थानीयको बुझाइ छ।सेते लामाको हत्या पछि छबिलाल स्याङ्ताङ विदेश गएको र करिब १२ वर्षपछि मात्र नेपाल फर्किएको स्थानीय बताउँछन्। राजनीतिक आडमा अघिल्ला अनुसन्धानहरू फितलो बनाइएका कारण नै यस्ता घटनाहरू दोहोरिएको स्थानीयको निष्कर्ष छ।

रिर्पाेट: रबि श्रेष्ठ गुप्तचरखबर (समाचारदाता)