स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालिको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरूसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कइन् । 

काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरूसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किइन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेन–जी’ उमेर समूहका किशोरकिशोरी र युवायुवतीका प्रतिनिधि पात्र हुन् । 

दसैँलगत्तै मौसममा  सुधार आएपछि बिदामा मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा अपेक्षा गरेभन्दा धेरै आन्तरिक पर्यटक आएका छन् । दैनिक तीन सय जनाको अनुपातमा अन्नपूर्ण आधार शिविर घुम्न आउने आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत ‘जेन–जी’ पुस्ताका रहेका पञ्चकुण्ड तालनजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङले बताइन् । 

'सामाजिक सञ्जाल र सञ्चारमाध्यमको भिडियो, फोटो हेरेर यहाँ आउनेहरू धेरै छन्,' उनले भनिन्, 'अपेक्षा गरेभन्दा र हाम्रो होटलको क्षमताभन्दा धेरै पर्यटक आउँदा खाना र बसाइ व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।'

विदेशी पर्यटक न्यून मात्रामा छन् । पदमार्गमा प्रौढ र पाका उमेरका पदयात्रीहरू कमै भेटिन्छन् । दश जोड दुई र क्याम्पस तहको अध्ययन गर्ने उमेर समूहका युवायुवतीका समूह तस्वीर, भिडियो बनाएर प्रकृतिसँग रमाइहेको भेटिन्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेको तस्वीर र भिडियोले लोभ्याएर अन्नपूर्ण आधार शिविर घुम्न आएको तनहुँको देवघाटकी संगीता लामाले बताइन् । 

'हिमाल र फेदीमा ठूलो ताल एकैपटक अवलोकन गर्न पाउनु यहाँको मुख्य विशेषता हो,' उनले भनिन्, 'हाम्रो पुस्तामा नयाँनयाँ ठाउँ घुमघाम गरेर छुट्टी मनाउने ‘ट्रेन्ड’ बढेको छ ।' सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त ‘जेन–जी’हरू नयाँनयाँ ठाउँ घुम्न र प्रकृतिसँग रमाउन चाहने पर्वतको जलजला गाउँपालिका–४ का सन्दर्भ आचार्यले बताए । 

छोटो दूरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरकफरक भूगोल, नदीनाला, झरना, वनजंगल, वन्यजन्तु र पक्षीहरूको एकैपटकको यात्रामा अवलोकन गर्न पाइने भएकाले जेनीहरूको रोजाइमा अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग परेको उनको भनाइ छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि ४ हजार १ सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । 

नीलगिरि खोलाको किनारैकिनार रहेको पदमार्गमा फुतफुते, छयाली, रातोलगायतका मनमोहक झरना छन् । आकाशे गुफालगायत अनौठा र पृथक् भूगोल अवलोकन गर्न सकिन्छ । फुच्चे प्रजातिको गुराँस पाइने यो पदमार्गमा मृग, घोरललगायत वन्यजन्तुको वासस्थान छ । अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल छ । नीलो ताल र पृष्ठभूमिको हिमाललाई एकैसाथ अवलोकन गर्न पाउँदा यात्राको सबै थकान मेटिने र मनमा उमंग छाउने झापाबाट आएका विजय सेनताङले अनुभव सुनाए । 

समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालदेखि एक घण्टा पैदलयात्रा गरेपछि अन्नपूर्ण आधार शिविरमा पुगिन्छ । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर जमिनमा आधार शिविर छ । पञ्चकुण्ड तालनजिकै रहेको कागभुसुन्डी डाँडाको धार्मिक महत्त्व छ । कागभुसुण्डी ऋषि र पञ्चकुण्ड तालका बारेमा हिन्दू धर्मग्रन्थ पञ्चरामाणयमा उल्लेख छ ।  

३ जून १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग घोषणा गरेको थियो । अन्नपूर्ण आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत जेठमा गाउँपालिकाले आधार शिविरमा पहिलो आरोहण दलका सदस्यहरूको सालिक र आरोहीहरूको नामावलीसहितको विवरण भएको खुल्ला संग्रहालय स्थापना गरेको छ । 

८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हुँदा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । २०६८ सालमा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि २०८० सालदेखि सञ्चालन गरिएको थियो ।

मानव बस्ती नभएको यो पदमार्गमा दुई वर्ष पर्यटक आफैँले बन्दोबस्तीका सामान लिएर आधार शिविर भ्रमणमा गए । हिमाल आरोहण गर्ने टोली हेलिकप्टरबाट जाने गरेका थिए । गत वसन्तयामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साँघीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०/५० जना क्षमताको होटल सुरु गरेका थिए । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा, तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताए । 'एक्यापले पक्की संरचना बनाउन नदिने भएकाले ‘टेन्ट’, टहरामा पाहुना राख्नुपरेको हो,' उनले भने, 'पाहुनाको चापसँगै क्षमता र सुविधा थप गर्न एक्यापले सहजीकरण गरिदिनुपर्छ ।' 

होटलमा काम गर्नेदेखि भरियाको रूपमा सामान ओसार्न स्थानीयवासीले रोजगारी पाएका छन् । यसअघि वसन्तयाममा आरोही र स्थानीयहरू मात्र जाने आधार शिविरमा अहिले अन्य याममा पनि पर्यटक आउन थालेका छन् । विद्युत् र सञ्चार सुविधाको समस्या छ । अग्रिम बुक गरेर मात्र भ्रमणमा आउन होटल व्यवसायीहरूले अनुरोध गरेका छन् ।

पाहुनाको बढ्दो चापसँगै फोहोरको चुनौती थपिएको छ । काठका अस्थायी झोलुंगे पुल र केही ठाउँमा साँघुरा पदमार्गमा आवतजावत गर्न समस्या भएको छ । फोहोर व्यवस्थापन र पाहुनाको सहजताका लागि होटलको क्षमता बढाउन गाउँपालिका र एक्यापसँग पहल गरेको पदमार्गका अभियान्ता तेज गुरुङले बताए ।  

अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर फर्कनुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तातोपानीदेखि हुमखोलासम्मको सडक स्तरोन्नति, झोलुंगे पुल, पदमार्ग र होटल तथा आश्रयस्थलको क्षमता विस्तारका लागि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने जानकारी दिए । उनले भने, 'नेचर र कल्चरको अद्भुत संगमस्थल अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार पहुँच पुर्‍याउन र सरसफाइमा ध्यान दिन जरुरी छ । यसका लागि म सक्दो सहयोग गर्दछु ।'

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्गको प्रवर्द्धनका लागि महोत्सव, आरोहण दिवस मनाउने, अन्नपूर्ण हिमाल चढ्ने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य स्थापित, एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिए । गाउँपालिकाले पदमार्ग, सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, आश्रयस्थल निर्माणको कामलाई निरन्तरता दिएको छ । रासस