काठमाडौँ । गत भदौ २३ र २४ गते नेपाल ठुलो उथलपुथलबाट गुज्रियो । २३ गते बानेश्वरमा निहत्था विद्यार्थीहरूमाथि भएको हत्याकाण्डले आक्रोशित भएको सिङ्गो देश २४ गते सडकमा पोखिन पुग्यो । सरकारविरुद्ध आक्रामक नारा लगाइरहेको भिड बिस्तारै नियन्त्रणभन्दा बाहिर पुग्यो । मध्याह्नमा प्रधानमन्त्रीको राजीनामा आए लगत्तै प्रदर्शन मत्थर हुनुको साटो अझ उग्र हुँदै सरकारी तथा निजी भवनमा आक्रमण गर्न थाल्यो ।
एकाएक उग्र बन्न थालेको आक्रमणले विभिन्न व्यक्तिका निजी निवास, व्यापारिक प्रतिष्ठान, सञ्चारमाध्यमका कार्यालयमात्रै निसानामा पारेन, सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत लगायत सबै प्रमुख केन्द्रमा आगजनी गर्न थाल्यो । हेर्दाहेर्दै सिंहदरबार लगायत प्रमुख कार्यालय जल्न थाले ।
एकाएक भएको भयानक तोडफोड र आगजनीबारे बिस्तारै अनुमानहरू गरिन थाले । मानिसहरू विभिन्न प्रकारका प्रश्न उठाउन थाले । सामाजिक सञ्जालमा उपलब्ध तस्बिर तथा भिडियो लगायत अन्य अधुरा सूचनाहरूको आधारमा अनेक प्रश्न देखा पर्दै गए । ‘षडयन्त्रका काल्पनिक कथा’ले सामाजिक सञ्जाल लगायत चोक चौतारामा ठाउँ पाउँदै गए । केही व्यवस्थित विश्लेषणहरू पनि छिटपुट देखिन थाले ।
यही सन्दर्भमा अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले एउटा खोजमूलक रिपोर्ट प्रकाशन गरेको छ । पत्रकार हन्नाह बीच र सजल प्रधानले स्थलगत रूपमा गरेको अवलोकन, सम्बन्धित सरोकारवाला तथा विभिन्न विज्ञहरूसँगको छलफल पश्चात तयार भएको प्रतिवेदनले आगजनीलाई एकाएक भएको भन्ने भाष्यमा प्रश्न चिह्न खडा गरेको छ ।
रिपोर्टमा आगजनी तथा त्यससँग जोडिएका विविध घटनालाई मसिनोसँग केलाएर प्रश्न उठाइएको छ । पूरै आलेखमा उठाइएका सवालहरूलाई बुँदागत रूपमा यसरी तयार गरिएको छ–
१. केही घण्टाको अन्तरालमा सबै नेता तथा प्रभावशाली व्यक्तिहरूको ठेगाना तथा तस्बिरसहितको विस्तृत विवरण व्यवस्थित रूपमा कसरी तयार भए ? कसरी प्रभावकारी रूपमा वितरण सम्भव भयो ?
२. दुई घण्टाभित्रै सबै प्रमुख प्रशासनिक भवनहरूमा आगो लागेको छ । आगलागी सुरु भएको आधा घण्टा नबित्दै देखिएको कालो धुवाँ, आगोको मुस्लोको स्वरुप लगायत हेर्दा यसमा त्यहाँभित्र रहेका निम्न गुणस्तरका फर्निचर तथा ज्वलनशील निर्माण सामग्रीका कारणमात्रै भएको जस्तो देखिँदैन । त्यहाँ अति प्रज्वलनशील रासायनिक पदार्थहरू पनि राखिएको जस्तो देखिन्छ । के पहिले नै त्यहाँ सोडियम, म्याग्नेसियम जस्ता खास प्रकारका पदार्थ राखिएका त थिएनन् ?
३. यस्ता अति प्रज्वलनशील पदार्थहरू सहजै किन्न पाइँदैन । के त्यसमा कुनै विशेष पहुँच भएको समूह संलग्न छ ?
४. आगो थप फैलिनका लागि झ्यालहरूले सजिलो बनाइदिएका छन् । आगलागी सुरु हुनु अघि नै खुला गरिएका सबै झ्याल तथा ढोकाहरू विरलै त्यसरी खुला राख्ने गरिन्थ्यो । सहजै आगलागी फैलिन सघाउने गरी ती झ्याल तथा ढोका ठिक त्यही समय कसरी खुला भए ?
५. आगलागी गराउनका लागि बिचमा एक–एक तला छोडेर आगो लगाइएको छ जुन भवनहरू जलाउनका लागि प्रयोग गरिने प्रभावकारी तरिका हो । प्रत्यक्षदर्शीहरूका अनुसार त्यहाँ मानिसहरूको रहस्यमय ओहोरदोहोर देखिन्छ । यस्तो व्यवस्थित आक्रमण भिडले कसरी गर्यो ?
६. सिंहदरबार आगलागीका दौरान युवाहरूको हातमा एक्कासि पेट्रोल बम लगायत अन्य तयारी अवस्थाका ज्वलनशील पदार्थ दिलाइएको थियो । यसरी ओसार्नेमा केही अधबैँसे मानिस पनि संलग्न थिए । हातमा बन्दुक तथा घरेलु हतियार लिएका केही प्रदर्शनकारी कार्यालयमा घेरा हालिरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार खास प्रकारको काम गर्नेहरूलाई नगदसमेत दिलाएको अनुमान थियो । यसरी व्यवस्थित रूपमा संवेदनशील पदार्थ कसले उपलब्ध गरायो ?
७. आगलागी प्रतिरोधी अवस्थामा राखिएका संवेदनशील दस्ताबेजहरू पूर्वजानकारी भए जसरी नै खोजीखोजी जलाइएको छ । यस्तो सूचना कसरी प्राप्त भयो ? कसले यस्ता सामग्री तयार गर्ने तथा आपूर्ति गर्ने काम गर्यो ?
अघिल्लो दिन काठमाडौँमा १९ जना प्रदर्शनकारीलाई प्रहरीले गोली हानी मारेको घटनाले निम्त्याएको आक्रोशको प्रतिक्रिया भनिएता पनि अनुसन्धानहरूले यसमा योजनाबद्ध षड्यन्त्रको सङ्केत देखाएका छन् । विभिन्न प्रत्यक्षदर्शी तथा आगलागी विज्ञहरूका अनुसार महिनौँको तयारीबेगर यति ठुलो र तीव्र आगो केही घण्टामा सल्किन असम्भव हुन्छ । केही घण्टामै तयार गरिएका भनिएका नाम ठेगानाका सूचीहरू सामाजिक सञ्जालमा फैलाइएका छन् । त्यही सूचीमा उल्लेखित व्यक्तिहरूका घर तथा कार्यालय निशाना बनाइएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय ‘फरेन्सिक ल्याब’मा समेत आक्रमण गरिएको छ । सेनालाई हस्तक्षेप नगर्न आदेश दिइएको भनिएको छ । जेलबाट निस्किएका नेताहरू तथा आन्दोलनलाई उग्र बनाउने समूहका नेताका घर भने सुरक्षित छन् । अझै पनि कुनै औपचारिक अनुसन्धान सुरु भएको छैन । सरकारी अधिकारीहरू नै देशको एक तिहाइ अर्थतन्त्र बराबरको क्षति भएको अनुमान गर्दैछन् । यद्यपि घटनाका जिम्मेवार को हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ ।
नेपाल प्रहरीका अधिकारीहरू, कर्मचारीहरू लगायत आन्दोलनमा सहभागी व्यक्तिहरूसँग गरेका कुराकानी तथा प्रदर्शनका दौरान खिचिएका विभिन्न तस्बिर एवं भिडियोहरूको आधारमा विभिन्न अन्तर्राष्ट्रिय विज्ञहरूसँगको छलफलबाट उनीहरूले नेपालमा छोटो समयमा एकाएक भएको आगजनीमा संगठित योजनाको आशंका गरेका छन् ।