भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखिएको रुपन्देहीस्थित भैरहवा कारागारभित्रको भौतिक अवस्था दयनीय देखिएको छ । २५० कैदी क्षमताको भवनमा ६३० जना कोचिएका छन् भने कैदी-बन्दीहरूले न्यूनतम सुविधाहरू पनि पाएका छैनन् ।


त्यसो त कारागार आफैँमा अपराधीहरूले सजाय काट्ने ठाउँ भएकाले सुविधाहरू किन दिने भन्ने एकथरि विचार पनि हुन्छ । यद्यपि, कारागारमा प्रमाणित अपराधीहरू मात्रै हुँदैनन् । मुद्दा विचाराधीन रहेको अवस्थामा पुर्पक्षका लागि थुनिएकाहरू पनि हुन्छन्, जो पछि निर्दोष साबित भएर छुट्न पनि सक्छन् । अपराधी ठहर भएकाहरूकै हकमा पनि उनीहरूको न्यूनतम मानवअधिकारसम्बन्धी मूल्य मान्यताहरू हुन्छन् । भैरहवा कारागारभित्र न्यूनतम मानवअधिकार पनि हनन भइरहेको स्थिति देखिन्छ ।


जिल्ला कारागार कार्यालयको जीर्ण भवनमा क्षमताभन्दा तीन गुणा कैदीबन्दी छन् । सोमबार अनुगमनमा आएको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई कारागार प्रशासनले ६ सय ३० जना कैदी, बन्दी र थुनुवा रहेको विवरण बुझाएको थियो । यो तथ्यांक हेरेपछि आयुक्त लिली थापाले आश्चर्य मान्दै भनिन्, ‘अहो, कसरी व्यवस्थापन भएको होला । यतिधेरै कैदीलाई व्यवस्थापन गर्ने कारागार प्रमुखलाई म धन्यवाद दिन्छु । तर क्षमताभन्दा बढी कैदी राख्नु सरकारको कमजोरी हो ।’


कारागार प्रशासक सुरेश भण्डारीले क्षमताभन्दा बढी कैदीबन्दीले आन्तरिक व्यवस्थापनमा निकै समस्या परेको गुनासो सुनाए ।


जिल्ला कारागार भैरहवा बजारको मध्यभागमा रहेको छ । कारागारसँगै वरिपरि स्थानीयका घर जोडिएका छन् । खुला स्थान केही देखिँदैन । १९९० सालमा निर्माण भएको यो कारागारमा सबैजसो भवनहरू जीर्ण छन् । वरिपरि मजबुत पर्खाल नहुँदा सुरक्षा चुनौती छँदैछ, स्थानीयका घरका छतबाट, उनीहरूले लगाएका फलफूलका बुटाहरूबाट सजिलै भित्र खस्न सक्छन् ।


तराईको चर्को गर्मीमा विभिन्न रोगको संक्रमण हुने जोखिम छ । यसबारे धेरैपटक यहाँको अनुगमन गरेर रिपोर्ट बुझाएको अधिकारकर्मी इन्दिरा आचार्य बताउँछिन् । उनका अनुसार भित्र सुत्ने ठाउँ र शौचालयको पनि समस्या छ । कारागारभित्र जम्मा १६ वटा शौचालय छन् । ती प्रायजसो प्याक नै हुन्छन् ।


कारागार आसपास अग्ला र भित्रका सम्पूर्ण गतिविधि नियाल्न सकिने निजीहरू रहेको र सबैतिर काँडेतार समेत नहुँदा कैदीबन्दी भाग्ने खतरा रहेको इन्सेक प्रतिनिधि रिमा बिसी बताउँछिन् । ती घरबाट कारागारभित्रका गतिविधि नियाल्न साथै तस्बिर खिच्न मिल्ने अवस्थाले सुरक्षा चुनौती रहेको कारागार प्रशासनले समेत स्वीकार गरेको छ । सामान्य जाली लगाएर कारागार क्षेत्र घेरिएको छ । कारागारभित्र धेरै प्रहरीहरू ड्युटी गर्न नरुचाउने एक प्रहरी अधिकृतले जनाए ।


स्थान अभावले गर्दा कैदीबन्दीहरु आरामले सुत्न पाउने अवस्था छैन । एउटै कोठामा २८ जनासम्म कैदी बन्दी राखिएको छ । कैदीबन्दीहरु एक आपसमा खप्टिएर सुत्ने गर्छन् । त्यतिले पनि ठाउँ नपुगेर राति उनीहरू पालोपालो सुत्ने गरेको कारागार प्रमुख सुरेश भण्डारीले स्वीकार गरे । ‘एउटा कैदीमाथि अर्को खप्टिएर सुत्नुपर्ने र त्यसले पनि नपुगेर पालैपालो सुत्नुपर्ने अवस्था छ,’ भण्डारीले भने ।


तराईको चर्को गर्मी, क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापनसँगै अन्य झैझगडाका चुनौतीहरू पनि रहेको उनले बताए । यद्यपि, हिलेसम्म अप्रिय घटना नभएको उनको भनाइ छ ।


कारागारका एक नायिकाले खाना र पानी पनि अपर्याप्त रहेको गुनासो गरे । ‘एक जनालाई पुग्ने खाना–पानी तीन जनाले बाँडेर खानु परिरहेको छ,’ उनले सुनाए, ‘हाम्रो माग कहिल्यै सुनवाइ हुँदैन ।’


कारागारभित्र ढल निकास नहुँदा दुर्गन्ध फैलिएको छ । वर्षा याममा डुबान हुन्छ । भवन समयमै मर्मत नहुँदा ठाउँ–ठाउँमा भत्किने, चुहिने र बिरुवा उम्रिएर जीर्ण बन्दै गएको छ । टिनका पाताहरू चुहिन्छन् । गर्मी छल्न टीनमाथि खरले छाइएको छ । तारजाली लगाइएको पर्खाल उस्तै जीर्ण देखिन्छ ।


पिउने पानीकै समस्या रहेको कारागार प्रशासनले जनाएको छ । बिजुली नियमित नहुने समस्याले पनि हैरानी सहनु परिरहेको छ ।


इन्सेक प्रतिनिधि बिसी यहाँ क्षमताभन्दा बढी कैदीबन्दीको समस्या आफूहरूले धेरैपटक उठाए पनि समाधान नभएको बताउँछिन् । सुधारगृह नभएर यातना गृहका रूपमा कारागार चलाइएको उनले बताइन् ।


‘एकै कोठामा २८ जनासम्म राखिएका छन् । रातभरि पालो गरेर सुत्नुपरेको कैदीहरूले बताएका छन् । त्यसैले यो सुधारगृह भन्नु सुहाउँदैन,’ उनले भनिन् ।