चितवन – मकवानपुरको मनहरी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–२ भैरवपुरमा वन्यजन्तु मार्नका लागि थापिएका विद्युतीय धरापमा परेर एकै दिन एउटामा मान्छे र अर्कोमा गैंडा मारियो ।
हिजो बुधबार मनहरी गाउँपालिका–६ को जोगितालको धानखेतमा आफैंले राखेको विद्युतीय धरापमा परेर राप्ती नगरपालिका–१ चितवन बसोबास गर्ने ३४ वर्षीय लालबाबु मुक्तानको ज्यान गयो ।
बिजुलीको पोलबाट हुक गरेर जोडिएको धरापमा पर्दा उनको मृत्यु भएको मनहरी गाउँपालिका–६ का वडाध्यक्ष युवराज थपलियाले पुष्टि गरे ।
खेतमा विद्युतीय धराप थापेको बिर्सिएर धान गोड्न खेतको आलीबाट हिँडिरहेका मुक्तानले पानीमा टेक्ने बित्तिकै करेन्ट लागेको थियो ।
आधा शरीर धानको डिल माथि र आधा डिल तल परेको अवस्थामा उनी मृत भेटिए । खेती किसानी गरेर जिविको चलाउँदै आएका मुक्तानका दुई छोराछोरी र श्रीमती छन् ।
श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका मुक्तानको परिवारसँग काजक्रिया गर्ने समेत खर्च नभएकोले पालिकाले ३० हजार रुपैयाँ खर्च दिन लागेको वडाध्यक्ष थपलियाले बताए ।
बुधबार नै चितवनको माडी नगरपालिका–२ मा खेतीबाली जोगाउन भन्दै थापिएको विद्युतीय धरापमा परेर २० बर्षको भाले गैंडाको मृत्यु भएको छ । हरिभक्त श्रेष्ठले धान खेती जोगाउनका लागि भन्दै विद्युतीय धराप थापेका थिए ।
मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित छ । विद्युतिय धरापका बारेमा बुझ्न र थप अनुसन्धान गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जले श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
विश्वकै दुर्लभ गैंडा मार्न कानुनले रोक लगाएको छ । श्रेष्ठलाई ४५ दिनसम्म थुनामा राखेर निकुञ्जले अनुसन्धान गर्न पाउँछ ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा मानवीय लापरवाहीका कारणले मारिएको गैंडा यो नै पहिलो घटना हो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा पनि गैंडा मार्ने पहिलो घटना करेन्ट लगाएर नै भएको थियो । गत वर्ष २८ गैंडा विभिन्न कारणले मरेका थिए, ति मध्ये एक गैंडा करेन्ट लगाएर मारिएको थियो ।
गत वर्ष चितवनको भरतपुर महानगरपालिका–१६ मा सुकेको मकैबारीमा चर्दै आएको अन्दाजी २० वर्षको पोथी गैंडालाई विद्युतीय धरापमा पारेर मारिएको थियो ।
दुर्लभ वन्यजन्तु गैंडा मारेमा वा यसको अंगको कारोबार गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।
वन्यजन्तु मार्नका लागि विद्युतीय धराप थाप्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।
२०७८ असोजमा बर्दियाको ठाकुर बाबा नगरपालिकामा बँदेल मार्न राखिएको विद्युतीय धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।
२०७९ माघ २७ गते झापाको विर्तामोडमा जंगली हात्तीबाट जोगिन आफैँले थापेको विद्युतीय धरापमा परेर स्थानीय खेम श्रेष्ठको मृत्यु भएको थियो ।पछिल्लो समय तस्करहरूले पनि विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् ।
२०७९ माघ ६ गते पूर्वीनवलपरासीको मध्यबिन्दु नगरपालिका–२ सेहरी गाउँनजिकै नारायणी नदीको किनारमा विद्युतीय धराप थापेर तस्करहरूले माउसहितको बच्चा गैंडा मारेका थिए ।
करेन्ट लगाएर गैंडा मारेपछि तस्करहरूले माउ गैंडाको खाग र खुरसमेत काटेर लगेका थिए ।
गाउँगाउँमा बिजुलीको पहुँच पुगेकाले खेतीबाली जोगाउने नाममा किसानले र वन्यजन्तु मार्न तस्करले विद्युतीय धरापलाई ‘हतियार’ बनाएको देखिन्छ ।
२०७९ असोज २७ गते सौराहानजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको थियो ।
त्यसअघि २०७८ मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीकिनारमा विद्युतीय धरापमा पारेर एक गैंडा मारिएको थियो ।
वन क्षेत्र आसपासका गाउँलेले विद्युतीय धराप राख्ने र त्यसमा परेर गैंडा मार्ने काम रोकिनुपर्ने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए ।
गैंडा मारे सरहकै कानुन धराप थाप्नेहरूमा पनि आर्कषित हुने उनले बताए ।
विशेषगरी तराईका राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा दुई दशकदेखि विद्युतीय तारबार गर्ने गरिएको छ ।
जंगली जनावरबाट किसानका खेतीवाली जोगाउन र मानवबीचको द्वन्द्वलाई कम गराउन विद्युतीय तारबार लगाउने गरिए पनि कतिपयले यसकै नक्कल गरेर विद्युतीय धराप थाप्ने गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले बताए ।
आफूहरूले मध्यवर्ती क्षेत्रमा विद्युतीय धराप नराख्न सचेतना फैलाउने कामलाई पनि सँगसँगै लगेको अध्यक्ष ढुंगानाको दावी छ । वन्यजन्तुले बालीनालीे नोक्सानी गरे निकुञ्जले राहत दिन्छ, तर क्षतिपूर्ति दिने भने व्यवस्था छैन ।
त्यसैले पनि किसानहरू निकुञ्जप्रति सकारात्मक हुन सकेको देखिँदैन । वन्यजन्तुले जतिसुकै बालीनाली खाए पनि निकुञ्जले १० हजार मात्रै राहत दिन्छ । गत आर्थिक वर्ष निकुञ्जले ३१ लाख ६० हजार राहत वितरण गरेको छ ।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले जंगली जनावरबाट मानव तथा खेतीवाली जोगाउन ठाउँठाँउमा विद्युतीय तारबार गरेको छ ।
तारबार बाहेकको ठाँउमा कंक्रिटका पर्खालहरू लगाइएका छन् । पर्खाल नभएको ठाँउमा किसानहरूले विद्युतीय तारबार नभई विद्युतीय धराप थाप्ने गरेका छन् ।
विद्युतीय तारबार र विद्युतीय धरापमा भिन्नता छ । तारबारमा ४ देखि १० भोल्टसम्मको डीसी करेन्ट प्रवाह हुन्छ तर विद्युतीय धरापमा बिजुलीको पोलमा सीधै हुक गरेर नांगो तार बिछ्याउने गर्छन् । जुन मानव र जनावरका लागि घातक सावित हुँदै आएको छ ।