गोरखा  – गोरखा नगरपालिका–४ फिनामकी ६३ वर्षीया उजेली कामीलाई आँबुखैरेनीबाट साथीले फोन गरिन् । श्रीमान् कलकत्ताबाट घर फर्किँदै गरेकाले बाटोसम्म लिन आउन सूचना गरिन् ।


उजेलीलाई साथीको फोनले पत्याउनु कि नपत्याउनु दोधार पार्‍यो । उनले जेठो छोरोलाई सो खबर जस्ताको तस्तै सुनाइन् । ‘जेठोले पत्याउँदै पत्याएन । बाबालाई बजारसम्म लिन जाम न हिँड भनेँ । बजारसम्म त आयो तर नपत्याएर घर फक्र्यो’, उजेलीले हालैको घटना सुनाउँदै भनिन्, ‘मचाहिँ पर्खेर बसेँ । साँझ ७ बजेतिर खैरेनीबाट ट्याक्सीमा आउनुभा’को रछ । ट्याक्सीबाट झर्नुभयो । उहाँले त मलाई एकछिन टोलाएर हेरेपछि चिन्नु भएछ । तिम्रो बुढो मै हो भनेर ठिंग उभिनुभो । मोटो न मोटो, अग्लो न अग्लो मान्छे, मैले चिन्नै सकिन । अक्क न बक्क भएर हेरेको हेरै भएँ ।’ त्यतिबेलाको खुसीलाई बयान गर्ने शब्द नपाएर उनी अकमक्क परिन् ।


जुठे २९ वर्षको कल्कलाउँदो जवानीमा घर, घरबार छोडेर मुग्लान पसेका थिए । अहिले घर फर्कँदा ६३ वर्ष टेकिसकेका छन् । ‘कान्छो छोरो पेटमा आठ महिनाको हुँदा छोडेर कलकत्ता गएका हुन् । अहिले कान्छोपट्टि पनि दुइटा नाति भइसके । चिन्नु पनि कसरी’, उजेलीले भनिन्, ‘मै हो क्या मै हो भनेपछि बल्लबल्ल चिनियो ।’ पोखरा बसमा आएका उनले खैरेनीबाट आएको ट्याक्सी फिर्ता पठाइदिए । फिनामसम्म जान फेरि अर्को ट्याक्सी खोजे । अनि घरका लागि हिँडे । ‘जेठो छोरो बाटोसम्म पर्खिरहेको थियो । सानोमै छाडेर जानुभा’को बाउलाई उसले नि चिन्ने कुरै भएन’, उजेलीले भनिन्, ‘घर पुग्यौं । कान्छाले त बाउको मुखै देखेकै थिएन । ३५ वर्ष हराएका बाउ घर फर्की आएको देखेर सबैजना छक्कै परे ।’ 


गाउँकै एक जना दाइको पछि लागेर जुठे २०४८ साल चैत १० गते मुग्लान पसेका थिए । ‘सधंै आउने जाने दाइ थिए । मलाई कलकत्ताको एउटा कम्पनीमा छाडेर ती दाइ कता गए कता । त्यतिबेला फोन पनि थिएन । चिठी लेख्न आफूलाई कालो अक्षर भैंसी बराबर’, जुठेले एकसासमा भने, ‘पछि फोनको चलन त आयो तर आफ्नो फोन नम्बर घरकालाई थाहा छैन, घरको फोन नम्बर आफूलाई थाहा छैन । यता नेपालका एकजना पनि चिनेको थिइन । म त नराम्ररी हराएँ ।’ 


जुठे हराएको ३३ वर्ष पुग्यो । यत्तिका समय अत्तोपत्तो नभएपछि घरमा व्यावहारिक, कानुनी गाँठोहरू फुकाउने प्रक्रिया सुरु भयो । अंशबन्डाको दाबी गर्न पनि कानुनी बाटो खुलाउनु पर्ने अवस्था आयो । त्यसैले उजेलीले २०७९ साल कात्तिक २१ गते गोरखा जिल्ला अदालतमा आएर पतिको मृत्युको न्यायिक घोषणा गर्न निवेदन दिइन् । अदालते जाँचबुझ, खोजतलासको प्रक्रिया पूरा गरेपछि पुसको २६ गते जुठेको मृत्यु भएको न्यायिक घोषणा गर्‍यो । त्यसकै आधारमा वडा कार्यालयले पुसको २८ गते मृत्यु दर्ताको प्रमाणपत्र बनाइदियो ।


कामको सिलसिलामा उनीसँग आँबुखैरेनीका एक जनासँग चिनजान भयो । आफ्नो सबै कथा कहानी सुनाएपछि उनले घर फर्कन आफूले मद्दत गर्ने बचन दिए । उनकै सहयोगमा अहिले उनी फर्केका हुन् । आगमनपछि उनलाई कानुनी रूपमा पनि जियाउने काम भएको अदालतले जनाएको छ । ‘उहाँको आगमन भएपछि फेरि उजेली बिकले आफ्नो पतिको मृत्युको न्यायिक घोषणा बदर गरिपाउँ भनेर निवेदन दिइन् । व्यक्ति स्वयं उपस्थित भएपछि हामीले हालसालै बदर घोषणा गरेका छौं’, गोरखा जिल्ला अदालतका स्रेस्तेदार कृष्णमुरारी सिग्देलले भने ।

अहिले जुठेको दम्पती राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा धाइरहेका छन् ।