काठमाडौं— सिरहाको नरहा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा भएको छ।

भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका नागरिक मोसताक मियाँलाई नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा नागरिकता दिएको खुलासा भएको हो।

OM Sai Pathibhara Hospital

उनले १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका छन्। वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले २६ असार २०८० मा मोसताकको नाममा नागरिक्ता जारी गरेको छ।

नागरिक्ता अनुसार मोसताकका बुबाआमा नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुन हुन। उनीहरुलाई नागरिक्तामा सनाखत गराईएको छ। तर, उनीहरु स्वयमले भने मोसताक आफ्नो छोरा नभएको र नचिनेको बताएका छन्। आफुहरुलाई वडामा झुक्याएर हस्ताक्षर गराइएको उनीहरुको दाबी छ।

वडा सचिव रामदेव मण्डलले भूलचुकमा सिफारिस हुन गएको बताए। अध्यक्षले लगाएको तोक आदेशका आधारमा आफुले सिफारिस दिएको उनको दाबी छ। वडाध्यक्ष अन्सारीले मोसताक अमानत र रजिनाका छोरा नभए पनि आफन्त भएको बताएका छन्।

मोसताकलाई नागरिक्ता दिलाए वापत वडाध्यक्षले १ लाख, सनाखत बस्ने अमानत र रजिनाले पचास÷पचास हजार भारतीय रुपैयाँ लिएको खुलेको छ।

त्यसपछि १ साउन ०८० मा स्थानीय उलफत मियाँले आर्थिक प्रलोभनमा नागरिकता दिइएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए भने इनुस मियाँले ४ साउन ०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।

सिरहाका सीडीओ बासुदेव दाहालले उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता झिकाइसकेको र यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्।