नयाँदिल्ली । मध्य भारतको गाउँ तुलसीको आर्थिक र सामाजिक क्रान्ति सामाजिक सञ्जाल युट्युबका कारण फेरिएको छ ।
गत सेप्टेम्बर, २०२४ को एक बिहान जब तुलसी गाउँका मानिसहरु आफ्नो खेततिर जाँदै थिए, त्यहाँ एक ३२ वर्षका युट्युबर जय वर्मा जोडिन्छन् । उनी महिलाको एक समूहलाई आफ्नो भिडियोको हिस्सा बन्न आग्रह गर्छन् । त्यसपछि महिलाहरु मुस्कानका साथ आफ्नो साडीलाई मिलाउँदै क्यामरा अगाडि आउँछन् ।

यसपछि जयले एक वृद्ध महिलालाई कुर्सीमा बस्न अनुरोध गर्छन् र अर्की महिलालाई ती महिलाको खुट्टा छुन भन्छन् । त्यसपछि अर्की महिलालाई पानी दिन भन्छन् । उनी गाउँमा तिहार मनाएको दृश्य खिच्छन्, जसलाई विश्वभर देखाउन चाहन्छन् ।
यी महिलाहरु यस्तो कामबाट परिचित छन् र भिडियोमा जोडिन पाउँदा खुशी महशुस गर्छन् । वर्मा यी कुरालाई क्यामरामा कैद गर्छन् । त्यसपछि महिलाहरु खेतमा काम गर्न फर्किन्छन् ।
यहाँभन्दा केही किलोमिटर पर एक अर्को समूह आफ्नो प्रोडक्सन सेटअप गर्न व्यस्त छन् । एक व्यक्ति आफ्नो हातमा मोबाइल बोकेर २६ वर्षका राजेश दिवारलाई खिच्छन् । जो कुनै प्रस्तोताको जस्तै एक हिप–हप गीतमा नाँचिरहेका हुन्छन् ।
तुलसी भारतको कुनै अन्य गाउँ जस्तै सामान्य गाउँ हो । छत्तिसगढको यो गाउँमा अधिकांश एक तलाका घर छन् र यहाँ पुग्न कच्ची सडकको प्रयोग गर्नुपर्छ ।
घरमाथि पानी ट्यांकी छ । बरगदको रुख पनि बस्ने ठाउँ हो । तर तुलसीले अर्को पहिचान बनाएको छ, त्यो हो भारतको ‘युट्युब भिलेज’ ।
यहाँ करिब चार हजार मानिस बस्छन् । तीमध्ये करिब एक हजार व्यक्ति कुनै न कुनै माध्यमबाट युट्युबमा जोडिएका छन् ।
गाउँ परिक्रमा गर्दा यस्ता व्यक्तिलाई भेट्न मुस्किल थियो, जो गाउँमा खिचिएको भिडियोमा नदेखिएका हुन् ।
युट्युबबाट प्राप्त पैसाले गाउँमा आर्थिक फाइदा पुगेको छ । आर्थिक फाइदा भन्दा फरक सामाजिक सञ्जाल प्लेटफर्म यहाँ समान र सामाजिक बद्लाव ल्याउने माध्यम पनि बनेको छ ।
जो गाउँलेले सफलतापूर्वक आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका छन्, उनीहरुलाई आयको नयाँ माध्यम बनेको छ । यसबाहेक महिलालाई आयआर्जनको अवसर पनि बढेको छ ।
फेब्रुअरी २०२५ मा युट्युब सुरुवातको २० वर्ष पुगेको छ । एक अनुमान अनुसार २ सय ५० करोड मानिसहरु हरेक महिना युट्युबको प्रयोग गर्छन् । यो मामलामा युट्युबको ठूलो बजार भारत नै हो ।
युट्युबको प्रभाव स्पष्ट देखिन्छ
विगत १० वर्षमा युट्युबले इन्टरनेटको दुनियाँमात्र होइन, यसले मानव संस्कृतिलाई पनि परिवर्तन गरेको छ । तुलसी गाउँ युट्युबको त्यही प्रभावको एक उदाहरण हो, जहाँ केहीको पुरा जीवन नै अनलाइन भिडियो वरपर घुम्छ ।
तुलसी गाउँका ४९ वर्षीय किसान नेतराम यादव भन्छन्, ‘युट्युबले बच्चाहरुलाई खराब बानी र अपराधबाट टाढा राखेको छ । भिडियो बनाउनेले जे जति उपलब्धि प्राप्त गरे, त्यसमाथि गाउँ गौरवान्वित छ ।’
तुलसी गाउँको परिवर्तनको सुरुवात सन् २०१८ बाट सुरु भयो, जब वर्मा र उनका साथी ज्ञानेन्द्र शुक्लाले एक युट्युब च्यानल ‘बीइङ छत्तीसगढिया’ सार्वजनिक गरे । ‘हामी आफ्नो रुटीन लाइफबाट खुशी थिएनौं । हामी केही फरक गर्न चाहन्थ्यौं । केही त्यस्तो काम, जसमा हाम्रो रचनात्मक कुरा आउन ।’
एक महिनामा यो च्यानलमा हजारौं फलोअर्स जोडिए र यो संख्या दिनानुदिन बढ्दै गयो । अहले यो च्यानलको १ लाख २५ हजार बढी सब्स्क्राइबर छन् । यसमा भ्युअरसीप २६ करोड भन्दा माथि छ ।
सामाजिक सञ्जालमा यति धेरै समय दिएपछि देखिएको उनीहको परिवारको चिन्ता तब हट्यो, जब उनीहरुले पैसा कमाउन थाले । ‘हामीले हरेक महिना ३० हजार भन्दा बढी कमाउन थाल्यौं । हामीलाई साथ दिने सदस्यलाई पनि हामीले सहयोग गरेका छौं’ शुक्ला भन्छन् ।
गाउँमै बन्यो स्टेट आर्ट स्टुडियो
युट्युब च्यानलका लागि शुक्ला र बर्माले आफ्नो जागिर पनि छोडे । उनीहरुको सफलता तुलसी गाउँका अन्य व्यक्तिका लागि प्रेरणाको स्रोत बन्यो । शुक्लाका अनुसार उनको टिम कलाकारलाई पैसा दिन्छन् र उनीहरुलाई स्क्रिप्ट लेखन तथा सम्पादनको तालिम पनि दिन्छन् ।
उनीहरुको काम स्थानीय अधिकारीको ध्यान खिच्न महत्वपूर्ण बन्यो । गाउँलेको सफलतालाई नजिकबाट देखेको राज्य सरकारले सन् २०२३ गाउँमै स्टेट आर्ट स्टुडियो बनाइदियो ।
पूर्व जिल्ला अधिकारी सरवेश्व भूरले गाउँबासीले युट्युबमा गरेको कामलाई डिजिटल डिभाइसलाई सम्बोधन गर्ने मौकाको रुपमा देखेको बताउँछन् । ‘म स्टुडियो उपलब्ध गराएर गाउँ र सहरको जीवनको अन्तरलाई हटाउन चाहन्थें । उनीहरुको भिडियो निकै प्रभावशाली छ । यो भिडियो लाखौं मानिससम्म पुग्छ । स्टुडियो बनाउनु नै उनीहरुलाई सहयोग गर्ने माध्यम हो’, उनी भन्छन् ।
२७ वर्षकी पिंकी साहू युट्युबमा गाउँकी ठूली स्टार हुन् । खेतबारीसँग जोडिएको दुर्गम गाउँमा जन्मिएकी पिंकीका लागि अभिनेत्री बन्ने सपना देख्नु असम्भव नै थियो । किनकी उनको परिवार र छिमेकीहरुले त्यसलाई स्वीकार्दैन थिए । साहूले आलोचना पछि पनि इन्स्टाग्राम रिल र युट्युबमा छोटा भिडियो राखिरहिन् । उनले प्रतिभाको पहिचान त्यति बेला पाइन्, जब बीइंग छत्तीसगढिया च्यानलका संस्थापकले उनको भिडियो देखे र आफ्नो प्रोडक्सनको हिस्सा बनाए ।
फिल्ममा पनि मिलिरहेको छ काम
बीइंग छत्तीसगढियासँगको कामका कारण स्थानीय फिल्म निर्माताको ध्यान पिंकीप्रति गयो र उनीहरुले आफ्नो फिल्ममा लिए । हालसम्म उनले सात वटा फिल्ममा काम गरिसकेकी छन् ।
बिस्लासपुर नजिकै बस्ने निर्माता र निर्देशक आनन्द मानिकपुरी पिंकीको युट्युब भिडियो देखेर प्रभावित भएका रहेछन् । ‘म एक नयाँ अनुहारको खोजीमा थिएँ । साहूलाई भेटेपछि त्यो पुरा भयो’, उनले भनेका छन् ।
तुलसी गाउँका आदित्य बघेल त्यो बेला कलेजमै थिए, जब उनले आफ्नो च्यानल बनाउने निर्णय लिए । वर्षभरमै उनको च्यानलमा २० हजार फलोअर्स भए र युट्युबबाट पैसा कमाउन थाले ।
वर्माले आदित्यलाई बीइंग छत्तीसगढियाको टिममा लेख्ने र निर्देशनको काम दिए । त्यसपछि उनले रायपुरको एक प्रोडक्सन हाउसमा काम पाए । उनले ठूलो बजेटको फिल्म ‘खारुन पार’मा स्क्रिप्ट लेखक र सहायक निर्देशकको काम पनि पाए ।
अर्का युट्युबर मनोज यादवले पनि फिल्ममा काम गर्ने मौका पाए । उनले रामायणमा रामको बाल्यकालको भूमिका निभाए । यादवले कुनै दिन छत्तीसगढको फिल्म हलमा ताली गुञ्जिनेछन् भनेर कल्पना पनि गरेका थिएनन् । कैयौं वर्ष युट्युब भिडियोमा आफ्नो प्रतिभा देखाएपछि यादवलाई एक क्षेत्रीय फिल्ममा काम गर्ने मौका मिल्यो । जुन फिल्मको कामबाट उनले अभिनयको तारिफ पाए ।
महिलालाई अगाडि आउने मौका
यो गाउँमा युट्युबले महिलालाई प्रविधिको क्रान्तिमा अगाडि बढ्ने मौका दिएको छ । गाउँका पूर्व सरपञ्च द्रौपदी वैष्णुका अनुसार युट्युब भारतमा सामाजिक रुढीवादलाई तोड्न र पूर्वाग्रहलाई चुनौती दिन अहम भूमिका निभाउन सक्छ । खासगरी यस्ता स्थानमा घरेलु हिंसा अहिले प्रमुख समस्या छ ।
उनी भन्छिन् ‘आमरुपमा महिला नै महिलाविरुद्ध बनेका परम्परालाई अगाडि बढाउँछन् । यो कुरा तब हुन्छ, जब बुहारीमाथि अभद्र व्यवहार हुन्छ । यस्ता भिडियो यस्ता पुराना सोचलाई परिवर्तन गर्न मद्दत गर्छ ।’
हालैमात्र ६१ वर्षकी द्रौपदीले एक भिडियो यही मुद्धामा बनाइन् । ‘म यो भिडियोको हिस्सा भएर खुशी थिएँ, किनकी भिडियोले महिलाको सम्मान र समानताको कुरा बोल्छ । जुन बेला म सरपञ्च थिएँ, त्यो बेला पनि मैले यसलाई बढावा दिएँ’।
५६ वर्षकी रामकली वर्मा एक गृहिणी हुन् । उनी गाउँको युट्युब च्यानलका लागि भिडियो बनाउन सहयोग गर्न रुचाउँछिन् । उनी पैसा चाहदिनन् ।
रामकली अहिले एक प्रिय आमाको भूमिका निभाउने चर्चित अभिनेत्री बनेकी छन् । गाउँमा उनको माग उत्तिकै छ । उनी आफ्नो अभिनयका कारण लैंगिक मुद्धाका विषयलाई उठान गर्छिन् । उनको रुचाइएको चरित्र त्यो हो, जहाँ उनले सासुको रुपमा एक बुहारीको पढाईलाई अगाडि बढाउन प्रोत्साहित गरेकी छन् ।
–बिबिसीबाट