OM Sai Pathibhara Hospital

कुश्मा :पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन्। जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको  छ।

करिब सात महिना पहिलेदेखि प्रशोधन केन्द्र स्थापनाको काम थालेको कम्पनीले भौतिक संरचना निर्माण तथा प्राविधिक कार्य पुरा गरी अबको केही हप्ता भित्रमा नै प्रशोधन कार्य गर्ने जनाएको छ। कम्पनीको स्थानीय प्रतिनिधि दीपेन्द्र बहादुर भण्डारीका अनुसार कम्पनीले म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जा लगायतका जिल्लाहरूबाट गैहकाष्ठ वनपैदावर अन्तर्गत पर्ने चुत्रोको सङ्कलन गरिने छ। चुत्रोको जरा, हाँगा र डाँठ ल्याएसँगै प्रशोधनको काम हुन्छ। प्रशोधित गरी पठाइएको धुलोको औषधीजन्य पदार्थमा मिश्रण गरी पेनकिलर, सुगर रोग लगायतको औषधि बनाइने बताइएको छ। 

चुत्रोको कच्चापदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै कम्पनीसम्म ल्याइ पुराउनु पर्नेछ। कम्पनीले प्रति केजी २० रुपैयाँका दरले कृषकहरूसँग चुत्रोको कच्चा पदार्थ र प्रति केजी ८ रुपैयाँका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ। प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्च भन्दा माथि जति पनि हुन सक्छ।

छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरि कुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले कच्चा पदार्थ मात्रै तयार गर्दछ। तयारी पदार्थको उत्पादन हुँदैन। सूचना अधिकारी श्रेष्ठले वैदेशिक लगानी भन्दा साथै धेरै हाउगुजीको रूपमा लिन नहुने भन्दै भन्नुभयो–चुत्रो भनेको यहाँ कामै नलाग्ने काँडे झाडीको रूपमा लिइएको पदार्थ हो। यो यसै प्रशोधित हुँदैन। यसका लागि नुन, पानी र सल्फिड एसिडमा कच्चा पदार्थ केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ। औषधि नै तयार पारेर यहाँ दिने हैन। धुलो मात्रै बनाएर निकासी गर्ने हो। उद्योग विभागबाट स्वीकृत भएका कामदार ३० जनाको छ भने अहिले ७ जना कार्यरत छन्।

कम्पनीले पहिलो पटक १२ सय केजी चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको बताइएको छ। सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी संम्भवत नेपालमै पहिलो भएको दाबी गर्नुभएको छ। वन ऐन र नियमावली अनुसार सामुदायिक वनमा बाटोको समस्या र सरकारी वन कार्य योजनामा रहेका केही कठिनाइले प्रशोधन केन्द्र सञ्चालनमा चुनौती रहेको कम्पनीका सूचना अधिकारी श्रेष्ठको गुनासो छ।

जिल्ला वन डिभिजन कार्यालय पर्वतका वन अधिकृत राम बहादुर विकले गैहकाष्ठ वनपैदावर अन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले विक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउँदै भन्नुभयो–पर्वतमा चुत्रो  १ हजार मिटर उचाइदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ। बाँझो बन्दै गएका व्यक्तिगत खर वारि, पाखो यत्रतत्र पाइन्छ। चुत्रो जातका वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्था छ। चुत्रोको उत्पादन एक पटक मात्रै गर्ने नभई पुर्नउत्पादनका लागि काँटछाँट गर्ने र फैलाउने तर्फ ध्यान दिन आवश्यक छ।ू

वन अधिकृत विकका अनुसार सरकारी वनको कार्य योजनामा कहिकतै चुत्रोबारे नामोनिशान उल्लेख नभएको हुँदा खरिदबिक्रीका लागि पुर्जी जारी गर्न सकिनै छैन। चुत्रो उत्पादन र विक्री केवल सामुदायिक वन र निजी पाखोवारिबाट हुनेछ। पञ्चवर्षीय सरकारी वन कार्य योजनामा समेत गैहकाष्ठ पैदावार अन्तर्गत पर्ने वनस्पति चुत्रोबारे केही उल्लेख गरिएको छैन। चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी समेत गरिएको छैन।

चुत्रोको दुई खाले वनस्पति पाइन्छ। लेकाली भेगमा अलि अग्लो जमाने मान्द्रो नामको चुत्रो हुन्छ भने पहाडी तल्लो भेगमा अलि होचो र झाडीदार हुन्छ जसलाई चुत्रो नै भनिन्छ। चुत्रो जराबाट सर्छ भने फलबाट पनि उम्रन्छ।