OM Sai Pathibhara Hospital

काठमाडौँ +नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र–२०८१’ सार्वजनिक गरे । 

जनवरी ९ तारिख बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री खड्काले यस्तो बताए । उनले पुस १६ गते मङ्गलवार बसेको मन्त्रीपरिषदको बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको कार्ययोजना स्वीकृत गरेको बताए । उनले अब जलविद्युतका ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको बताए ।

 मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुने गरी विद्युत आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दए । उनले लगानीकर्तालाई सहज बनाउने र स्वदेशीसहित विदेशी लगानीकर्तालाई लगानी गर्ने बाटो खुला गर्नेगरी मन्त्रिपरिषद्ले पारित गरेको बताए । 

उनले सरकारले जलविद्युत क्षेत्रमार्फत राखेको ‘समृद्ध नेपाल’ को लक्ष्य पूरा हुने वातावरण सिर्जना भएको बताए । मन्त्री खड्काले नेपालको विद्युतको बजार सुनिश्चित रहेकाले लगानी सुरक्षित रहेको दाबी गरे । उनले अबको १० वर्षमा २५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने आधारमा लक्ष्य निर्धारण भएको दाबी गरे । उनले विगतमा १० वर्ष लगाएर एउटा आयोजना सम्पन्न नहुनको प्रमुख कारण पूर्वाधारहरु र अध्ययनहरु नहुने भएको बताए । उनले तर अहिले धेरै आयोजनाहरुको अध्ययन सम्पन्न भएको बताए । 

मन्त्री खड्काले सरकार र निजी क्षेत्रले त्यस्ता आयोजनाहरुमा लगानी गरिसकेको अवस्था रहेकाले अबको चारदेखि पाँच वर्षमा हरेक आयोजनाहरु सम्पन्न गर्न सक्ने अवस्था रहेको उल्लेख गरे । उनले आयोजना सम्पन्न गर्न हुने समस्याहरुको पनि सरकारले पहिचान गरिरहेको बताए । उनले केही जग्गा प्राप्ति,वन तथा वातावरण,बुझाई र अर्थ मन्त्रालयका समस्यामा पनि सरकार गम्भीर रहेको बताए ।

उनले सरकार र निजी क्षेत्रका सम्पूर्ण आयोजनाहरुमा परेका समस्याको पहिचान गरेर कार्ययोजनामा समावेश गरेर मन्त्रीपरिषदबाट पारित गरेको भन्दै यो महत्वपूर्ण उपलब्धि भएको दाबी गरे । उनले कार्यान्वयनका लागि सरकारले कमिटि नै बनाएर काम गर्ने बताए । १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य वैज्ञानिक ढङ्गमा आएकाले सम्भव  रहेको उल्लेख गरे ।

उनले अर्थ मन्त्रालयसँग १० वर्षमा ऊर्जा क्षेत्रमा लगानी गर्न सक्ने विषयमा समेत छलफल गरेको बताए । उनले लगानीको वातावरण बनाउँदै जलविद्युत उत्पादनमा आम नागरिकको सबैभन्दा बढी सहभागिता जनाएर लक्ष्य पूरा गर्ने उद्देश्य रहेको बताए ।