काठमाडौं । बागमती प्रदेश सरकारले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी र ती बिद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सीप सिकाउन थालेको छ ।
सञ्चार रजिष्ट्रारको कार्यालयले सोमबारदेखि ललितपुरको जावालाखेलस्थित आफ्नै कार्यालयमा पाँच वटा सामुदायिक बिद्यालयका २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराई पहिलो पटक पाँच दिने चलचित्र साक्षरता कार्यशालाको शुक्रबार समापन गरेको हो ।
समापन कार्यक्रममा मन्तव्य राख्दै बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने जीवनपयोगी सीप सिकाएर भबिश्यमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताए । बिद्यालयस्तरमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न कार्यक्रमले मद्दत पुग्ने मन्त्री लामिछानेले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बनधी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौंका चार वटा सामुदायिक बिद्यालय र भक्तपुरको एक सामुदायिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई मन्त्री लामिछानेले प्रमाणपत्र वितरण गरेका थिए ।
सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार शिक्षक र बिद्याथीले चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभुत सीप सिकेका छन् । यो कार्यशालामा फरक फरक बिधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका,अभिनय, छायाँकन, सम्पादन, बजारीकरण र वितरणको आधारभुत ज्ञान र सीप सिकाइएको सञ्चार रजिष्ट्रार सापकोटाले बताए ।
अरुले काम नगरेको वा रचनात्मक तवरले नयाँ विषयमा काम गर्ने चाहनाले विद्यार्थीहरुलाई तालिम दिन लागिएको सापकोटाले बताए । सापकोटाका अनुसार बागमती प्रदेशको आर्थिक,सामाजिक, राजनीतिक, साँस्कृतिक, भाषिक, धार्मिक,ऐतिहासिक,पुरातात्विक, प्राकृतिक महत्व झल्किने, प्रदेशको पर्यटन र संस्कृति प्रबद्र्धन गर्न योगदान पुग्ने, परम्परागत ज्ञान र सीप प्रतिबिम्बित हुने सिर्जनात्मक, भावनात्मक तथा सन्देशात्मक र कलात्मक चलचित्र, बृत्तचित्र उत्पादन, निर्माण र प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यशालामा काठमाडौ उपत्यकाका पाँचवटा विद्यालय कोटेश्वर सरस्वती उच्च माध्यमिक विद्यालय, कोटेश्वर; रत्नराज्य माध्यमिक विद्यालय, वानेश्वर; सिद्धेश्वरी माध्यमिक विद्यालय, तिनकुने; भीमसेनगोला मावि, भीमसेनगोला चार–चार जना विद्यार्थी र ती बिद्यालयका एक एक जना शिक्षक प्रशिक्षार्थीका रूपमा सहभागी गराइएको थियो ।
प्रशिक्षार्थीलाई चलचित्र निर्माण, पटकथा लेखन, उत्पादनका बारेमा प्राविधिक पक्षका साथै सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएर नयाँ जनशक्ति तयार गर्ने ध्येय राखिएको पनि रजिष्ट्रार सापकोटाले बताए ।
प्रशिक्षणको पहिलो दिन पहिलो सत्रमा चलचित्र सम्पादक शिव पुरीले चलचित्रको परिचय, प्रकार र चलचित्र निर्माण प्रक्रियाका बारेमा प्रशिक्षण दिएका थिए । यसक्रममा चलचित्र निर्माता सुनिल पाण्डेले चलचित्र निर्माणका प्राविधि पक्ष र जान्नैपर्ने शब्दावलीका बारेमा प्रशिक्षण दिएका थिए ।
दोस्रो सत्रमा प्रशिक्षक शिव पुरीले पाण्डुलिपि परिचय, क्यामरा परिचय, निर्देशन र अभिनय सम्बद्ध जानकारी लगायत चलचित्रका प्रकार (कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, श्रव्यदृश्य प्रतिवेदन) र चलचित्रको विकासबारे प्रशिक्षण दिएका थिए ।
यसैगरी प्रशिक्षणको दोस्रो दिन (पुस २३ गते) को पहिलो सत्रमा छायांकनमा लाइट (प्रकाश) र आवाज (साउन्ड) को व्यवस्थापन, छायांकन गर्दा समूह परियोजना सञ्चालनबारे विष्णु कल्पितले व्यवहारिक र सैद्धान्तिक पक्षका बारेमा प्रशिक्षण दिएका थिए ।
यसैगरी प्रशिक्षक कल्पितले दोस्रो सत्रमा श्रव्यदृश्य (भिडियो) सम्पादन गर्ने सफ्टवेयरको सञ्चालन र सम्पादनका लागि जान्नुपर्ने कुरा, सफ्टवेयर प्रयोग गरी कटिङ, प्रभाव र ध्वनी सम्पादनसम्बद्ध व्यवहारिक प्रशिक्षण दिएका थिए ।
तेस्रो दिन (पुस २४) गते अभिनय कार्यशाला राखिएको थियो । यस दिनको पहिलो सत्रमा अभिनय कलाकर्मी प्रभाकर शर्माले कार्यशालामा अभिनयलाई समूह अभ्यास गराएका थिए । शर्माले प्रशिक्षार्थीहरुलाई आफ्नो कामप्रति कसरी एकत्रित हुने, सञ्चार कसरी गर्ने, कल्पनाको भूमिका, आफूले गरेका अभिनयलाई जोड्ने कडी र भावनासम्बद्ध पक्षका बारेमा केन्द्रित रही प्रशिक्षण गराएका थिए ।
अभिनय विज्ञ शर्माले अभिव्यक्तिका लागि उच्चारणमा स्पष्टता, शारीरिक हाउभाउमार्फत सञ्चार गर्ने कौशल, शरीरको गतिशीलता र अनुहारको हाउभाउको प्रयोग, पात्रको चरित्रचित्रण, पात्रको मनोविज्ञान, परिस्थिति बुझ्ने क्षमता, सहकार्य गर्ने क्षमता विकास र तयारीका बारेमा प्रशिक्षण दिएका थिए ।
दोस्रो सत्रमा पाण्डुलिपि लेखन र समूह अभ्यासका बारेमा ओस्कार कलेजका प्राध्यापक नवनिधि दाहालले प्रशिक्षण दिएका थिए । दाहालले कुनै कथालाई कसरी चलचित्र निर्माण गर्ने पटकथामा रुपान्तरण गर्ने ? त्यसको प्राविधिक पक्ष के के हुने् ? चलचित्र निर्माण कार्यमा संलग्न सबैजनाले बुझ्ने भाषा कस्तो हुन्छ भनी पटकथा लेखनबारे प्रशिक्षण दिएका थिए । उनले ‘स्क्रिप्ट टु स्क्रिन’ का विविध पक्षबारे व्यवहारिक तथा सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणको चौथो दिन पुस २५ गते निर्देशनको आधारभूत ज्ञानका साथै चलचित्र निर्देशकको भूमिकाका बारेमा रक्षा सिंह राणाले सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिएकी थिइन् । यसै सत्रको अन्त्यमा चलचित्र निर्माता सुनिल पाण्डेले निर्देशन टोलीको व्यवस्थापन र दृश्य योजनाका बारेमा प्रशिक्षण दिएका थिए ।
यसदिनको दोस्रो सत्रमा चलचित्र सम्पादन, प्रदर्शनबारे प्रशिक्षार्थीहरुलाई छलफल गराइएको थियो । यस सत्रलाई पनि रक्षा सिंहले नै संयोजन गरेकी थिइन् ।
यस दिनको दोस्रो सत्रमा मोबाइलबाट तस्बिर र भिडियो छायांकन गर्ने तौरतरिकाबारे प्रशिक्षक बिकास कार्कीले विद्यार्थीलाई सामूहिक परियोजना तयार गर्न सिकाएका थिए । क्यामरा सञ्चालन, त्यसका प्राविधिक र सैद्धान्तिक पक्षका बारेमा विद्यार्थीले चाख मानेर जानकारी लिएका थिए ।
प्रशिक्षणको अन्तिम दिन (पुस २६ गते) पहिलो सत्रमा चलचित्र बिकास वोर्डका सदस्य राजु केसीले निर्माण भएको चलचित्रलाई दर्शक समक्ष पुरयाउने बिबिध प्रविधिका बारेमा जानकारी गराउँदै चलचित्रको बजारीकरणका बारेमा प्रशिक्षण दिएका थिए ।
यसपछि विद्यार्थीले छायांकन गरेर ल्याएका श्रव्यदृश्य (भिडियो) हरू सम्पादन, फिल्म प्रदर्शनका बारेमा छलफल गर्न चलचित्र निर्माता शिव पुरी उपस्थित थिए । प्रशिक्षार्थीहरुले तयार गरेको श्रव्यदृश्य सामग्री सम्पादन गरेर कार्यशालाका सहभागी सामु प्रस्तुत गरिएको थियो । चलचित्र प्रस्तुतिपछि चलचित्रका बारेमा सुनिल पाण्डेले प्रशिक्षार्थीहरुसँग छलफल गरेका थिए ।