भैरहवा :रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन्। जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन्।

 अध्यागमन कार्यालय, बेलहियाको तथ्याङ्कअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ९२ हजार ६ सय ४४ छ । ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलङ्काली छन् । त्यसपछि थाइल्यान्डबाट २१ हजार ३ सय ९७, म्यानमारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार ६ सय ८० जना छन् ।

OM Sai Pathibhara Hospital
OM Sai Pathibhara Hospital

 अफगानिस्तान, बङ्गलादेश, अन्दोरा, बहराइन, बरवादोस, ब्रुनाइ, कङ्गो, क्युबा, एरिटिया, हाइटी, हन्डुरास, इभोरिकोस्ट, काजकिस्तान, लिथुनिया, ताजकिस्तान, युगोस्लाभिया, सुडान, सिरिया, सेनेगल, स्कोटिश, पयासबसुफ, पाकिस्तान, मोजामिक राष्ट्रबाट भने आगमन शून्य छ ।

 सन् २०२४ मा यस नाकाबाट आएको यो पर्यटकको सङ्ख्या विगत पाँच वर्षपछिको सर्वाधिक हो । सुनौली–भैरहवा नाका स्थल मार्ग हुँदै सर्वाधिक पर्यटक नेपाल भित्रिने गरेको मुख्य नाका हो । गोरखापत्र अनलाइनका अनुसार पर्यटक आवागमनको हिसाबले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको  देशकै दोस्रो ठुलो हो।

 सन् २०१९ मा १ लाख ६१ हजार ६ सय १९, सन् २०२० मा ४३ हजार ३ सय ६७, सन् २०२१ मा  ८ सय १२, सन् २०२२ मा २० हजार २ सय २० र सन् २०२३ मा ८१ हजार ५ सय ५१ पर्यटक आएका थिए ।

 चिनियाँ नागरिक तथा पर्यटकको आगमन भने यस नाकाबाट विगत चार वर्षदेखि शून्य छ । कार्यालयका सूचना अधिकृत पुकार श्रेष्ठले सन् २०२१ देखि यस नाकाबाट चिनियाँ पर्यटकको आगमन शून्य भएको बताए । त्यसअघि २०२० मा ८ सय १३, २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ पर्यटक भित्रिएका थिए ।

 यस नाकाबाट आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । त्यसपछिको गन्तव्य पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाण्डू , सौराहा हुन् । मुख्य गन्तव्य स्थल लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढ्न सकेको पाइँदैन । अधिकतम २ रातभन्दा बढी पर्यटक बसेका छैनन् ।

 ‘पासपोर्ट होल्डरहरू दश प्रतिशत हाराहारीमा उही दिन फर्किने गरेको पाइएको छ’, अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायण पाण्डेले भने , ‘उनीहरू लुम्बिनीमा पाइला टेकेर त्यहीँबाट फर्कने गरेका छन् ।’ बेलहिया नाकाबाट भारतीय पर्यटकको आगमन उच्च छ । तर भारतीयहरूलाई भिसा लगाउन नपर्ने भएकाले उनीहरूको तथ्याङ्क अध्यागमनले राख्दैन ।