काठमाडौं— असोज दोस्रो साताको विपदबाट सम्पर्कविच्छेद भएका ७१ वटा स्थानीय तहका बाढीपहिरो पीडितको यस वर्षको दशैं खल्लो भएको छ। 

असोज दोस्रो साता आएको निरन्तरको वर्षापछिको बाढीपहिरो र डुबानले प्रभावित १४ जिल्लाका ७१ पालिकालाई सरकारले ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।  

OM Sai Pathibhara Hospital

विपदका घटनालगत्तै दशैं शुरु भएपछि राहत तथा पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउने बताएको सरकार फेस्टिभ मुडमा बसेकाले पीडितको दशैं अँध्यारोमै बितेको हो।

बाढीपहिरोबाट बढी प्रभावित भएका ललितपुर, काभ्रे, सिन्धुली, चितवन, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, पाँचथर, उदयपुर जिल्लाका कतिपय पालिकामा सडक बाटो, बिजुली बत्ति र शुद्ध खानेपानी नै हालसम्म बन्द छ। 

काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरो पीडितले भोकभोकै अँध्यारोमै दशैं गुजारेको बताएका छन्। घाइतेहरुको उद्धार गरेको संघीय सरकारले मृतकलाई दिने २ लाख राहत १२ मध्ये १० जनालाई दिएको र बाँकी काम दशैंको वेला भएकाले केही नभएको बताएका छन्।

प्रतिमृतक काजकिरिया खर्च भनेर ५० हजार दिएको गाउँपालिकाले खाद्यान्न, खानेपानीको पाइप, बिजुली बत्ति बाल्न काम गरिरहेको छ। क्षतिको पूर्ण विवरण नै संकलन भइनसकेको र दशैं लागेकोले राहत वितरण गर्न नसकिएको अध्यक्ष लामाले जानकारी दिए। 

एक साताअघिको बाढीपहिरो पीडितले मात्र होइन एक वर्षअघिको भूकम्पबाट प्रभावित भएकाहरुको दशैं पनि उत्साहपूर्ण हुन सकेन। उक्त भूकम्पबाट बासस्थान गुमाएका जाजरकोट, रुकुमपश्चिम र सल्यानका पीडितहरुको अवस्था अझै कष्टकर रहेको छ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले  भूकम्प पीडितहरुले अस्थायी आवासमै दशैं मनाएको बताएका छन्। गृह मन्त्रालयको तथ्याङ्कअनुसार जाजरकोट भूकम्पमा परेर २६ हजार घरहरू पूर्ण रुपमा र ३५ हजारभन्दा बढी घरहरूमा आशिंक क्षति पुगेको थियो। विद्यालय भवनहरू, ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका धरोहरसमेत ध्वस्त भएका थिए।