काठमाडौं–चौथोपटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओली पहिलो विदेश भ्रमणमा जान लाग्नुभएको छ । उनी आगामी भदौको तेस्रो हप्ता थाइल्याण्डको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २०) गते आयोजना हुँदै छ ।

OM Sai Pathibhara Hospital

ओलीले सरकार प्रमुखको रूपमा शिखर सम्मेलनमा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् ।

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान र व्यापार प्रवर्द्धनको उद्देश्यले १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएपनि नेपाल भने २००४ मा  सदस्य भएको हो ।