पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको धरोहर र एउटा क्रन्तिकारी योद्धा थिए। 

नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव थिए। उनकै पहलकदमी र नेतृत्वमा २००६ साल वैशाख १० गते अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता लेनिनको जन्म दिवसको अवसर पारेर भारतको कलकत्ताको श्यामबजारमा एक जना बङ्गालीको घरमा बसेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो। 

OM Sai Pathibhara Hospital

नेपाल कम्युनिस्ट पार्टीको स्थापना पाँच जना युवा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर निर्माण गरेका थिए। पुष्पलाललाई महामन्त्रीमा निर्वाचित गरिएको थियो। 

त्यतिबेला देशभित्र जहानियाँ राणाको भीषण दमन चलिरहेको थियो। नेपालमै बसेर राणा शासन विरोधी राजनीति गर्न सक्ने वातावरण थिएन। त्यसैले भारतमा पुगेर नेकपा स्थापना गरिएको थियो।  पुष्पलालको निधन आजकै दिन अर्थात् विक्रम संवत् २०३५ साउन ७ गते भारतको राजधानी नयाँ दिल्लीस्थित गोविन्द बल्लभ अस्पतालमा भएको थियो। 

पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गर्नुभएको छ। माक्र्सवादलाई पहिलो पटक नेपाल भित्र्याउने श्रेय पुष्पलाललाई जान्छ। 

उनले नेपालमा त्यस प्रकारको क्रूर जहानियाँ राणा शासनको दमनको दबदबा भइरहेको कठिन र जटिल अवस्थामा प्रवासमा बसेर नेकपा स्थापना मात्र गरेनन् वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्न वर्गविहीन, राज्यविहीन समानतामूलक समाजको परिकल्पनासमेत गरे। 

सबैखाले शोषण, दमन, अन्याय, अत्याचार र उत्पीडनको अन्त्य गरिए नौलो साम्यवादी संसार निर्माण हुने छ भनेरै यस्तै खालको राजनीतिक कार्यनीति एवं रणनीतिक योजना तर्जुमा गर्ने पहिलो क्रन्तिकारी योद्धा पनि थिए पुष्पलाल। 

पार्टी स्थापना भएको पर्सिपल्ट अर्थात् २००६ साल वैशाख १२ गते प्रकाशित नेकपाको पहिलो पर्चामा नै नेपाली जनताले नागरिक अधिकार प्राप्त गर्नुपर्ने, ‘जग्गा जोत्नेको, घर पोत्नेको’ भन्ने नाराका साथ सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रन्तिको कार्यक्रम सार्वजनिक गरिएको थियो। 

पुष्पलालको मुख्य सपना नयाँ जनवादी क्रन्ति सम्पन्न गरेर नेपाली समाजलाई वैज्ञानिक समाजवादमा पुर्‍याउने थियो।

२०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा पुष्पलाललाई महामन्त्री पदमा हराएर मनमोहन अधिकारीलाई महामन्त्री पदमा निर्वाचित गरिएको थियो। तैपनि पुष्पलाई विचलित नभई पार्टी काममै निरन्तर क्रियाशील रहे।

२०१४ सालमा नेकपाको दोस्रो महाधिवेशन सम्पन्न गरिएको थियो। त्यस महाधिवेशनबाट पनि राजावादी डा. केशरजङ्ग रायमाझीलाई महामन्त्री पदमा निर्वाचित गरिएको थियो। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले सैनिक ‘कु’ मार्फत निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाको घोषणा गरी राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाएका थिए। उक्त शाही कदमको नेकपाको तत्कालीन महामन्त्री डा. केशरजङ्ग रायमाझीले खुलेर स्वागत गरेका थिए। 

२०१९ सालमा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भएको थियो। त्यस महाधिवेशनले नेपाली क्रन्तिको कार्यक्रम नयाँ जनवादीलाई पन्छाएर रुसी मोडलको ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पुँजीवादी संसदीय कार्यक्रम पारित गरेको थियो। महामन्त्री पदमा रुसी समर्थक तुलसीलाल अमात्यलाई महामन्त्री पदमा निर्वाचित गरी डा. केशरजङ्ग रायमाझीलाई पार्टीबाट निष्कासन गरिएको थियो। 

त्यसपछि पार्टीले वैचारिक नेतृत्व र साङ्गठनिक नेतृत्व प्रदान गर्न नसकेपछि २०२१-२०२२ तिर नेकपा दिशाविहीन भएर टुक्रा टुक्रामा विभाजित हुन पुगेको थियो। त्यसैबेला नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तुल्याउने उद्देश्यले पुष्पलालले २०२५ सालमा गोरखपुरमा नेकपाको तेस्रो महाधिवेशनको आयोजना गरेका थिए। सोही महाधिवेशनमा नेपाली क्रन्तिको कार्यक्रम ‘नौलो जनवाद’ पारित गरी महामन्त्री पुष्पलाललाई निर्वाचित गरिएको थियो।

२०२९ सालमा पुष्पलालले मुलुकको राष्ट्रिय राजनीतिक अवस्थाको अध्ययन विश्लेषण गरेर निरङ्कुश राजतन्त्र अन्त्य गरेर २०१७ पुस १ गते राजा महेन्द्रद्वारा अपदस्त गरिएको बहुदलीय व्यवस्था पुनस्र्थापनाका लागि नेपालका कम्युनिस्टले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार अगाडि सारेका थिए। 

उनको त्यस विचार र निर्णयप्रति कम्युनिस्टहरूबाटै विरोध भएको थियो र कमरेड पुष्पलाललाई ‘गद्दार’ समेत घोषणा गरिएको थियो। नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइराला कम्युनिस्ट विरोधी भएकै कारण पुष्पलालकै जीवनकालमा संयुक्त जनआन्दोलनको कार्यक्रम कार्यान्वयन हुन सकेन भने नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने पुष्पलालको योजना र सपना पनि अधुरै रह्यो।

२०३५ साल साउन ७ गते पुष्पलालको निधन भयो। त्यसपछि २०४६-२०४७ सालको पञ्चायती व्यवस्था विरोधी संयुक्त जनआन्दोलन भयो। नेपाली कांग्रेस र कम्युनिस्टबिचमा कार्यगत भएपछि २०४६ साल चैत २६ गते ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था पुनस्र्थापना हुन पुग्यो। 

२०४६/४७ सालको संयुक्त जनआन्दोलन सफल भएपश्चात् कमरेड पुष्पलालले अगाडि सारेको संयुक्त जनआन्दोलनसम्बन्धी विचार कार्यान्वयन हुन पुग्यो।

पुष्पलाल उच्च विचार र सादा जीवनका धनी थिए। उनले कहिले पनि आफ्नो व्यक्तिगत जीवन र स्वार्थलाई केन्द्रमा राखेनन्। जीवनमा ठुलो आर्थिक कठिनाइको सामना गरेका पुष्पलालले देशभित्र पार्टीमाथि प्रतिबन्ध लगाइएका कारण भारतको वनारसमा विस्थापित जीवन बिताएका थिए। 

उनलाई वनारसीको बसाइँमा सामान्य साँझ बिहानको खाना खाने पैसाको समेत अभाव थियो। तैपनि उनी कहिल्यै आत्तिएनन्। बिरामी भएको बेला आर्थिक अभावका कारणले उचित औषधी उपचार नपाएर ५४ वर्षकै उमेरमा २०३५ साल साउन ७ गते उनको देहान्त भयो।

पुष्पलाल कम्युनिस्ट क्रान्तिकारी योद्धा मात्रै नभएर इतिहासविद् र संस्कृतिविद् पनि थिए। उनले पहिलो पटक नेपाली समाजको वर्ग विश्लेषण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा गरेका थिए। नेपालको इतिहासको अध्ययन र व्याख्या पनि दार्शनिक रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा गरेका थिए। 

नेपालका सबै कम्युनिस्टले आफूलाई पुष्पलालका अनुयायी भएको भन्न कहिल्यै थाक्दैनन्। उनीहरूले आफूलाई पुष्पलालपन्थी भन्दै आएका छन् तर पुष्पलाल पथमा हिँडिरहेका छैनन्। 

किनभने पुष्पलालले स्थापना गरेको नेपाली कम्युनिस्ट आन्दोलनले ७५ वर्ष पार सक्दासम्म पनि नेपालमा क्राान्ति सम्पन्न भएको छैन। जसका कारण पुष्पलालका नेपाली क्राान्तिका सुन्दर सपना अधुरै छन्। यति लामो अवधिसम्म पनि पुष्पलालका सपना साकार हुन नसक्नुमा उनकै अनुयायी भनिएका नेपालका कम्युनिस्ट पुष्पलाल पथमा हिँड्न नसक्नु प्रमुख कारण बन्न पुगेको छ। 

२०२८ सालमा सशस्त्र झापा विद्रोह भयो। त्यस विद्रोहमा नेपाली जनताको ठुलो योगदान भएको छ। पाँच पाँच जना रामनाथ दाहाल, नारायण श्रेष्ठ, नेत्र घिमिरे, वीरेन राजवंशी र कृष्ण कुँइकेलहरू शहीद बन्न पुगे। 

१० वर्षे जनयुद्धको अवधि मात्रै दसौँ हजार नेपाली आमाका असल छोराछोरीले जीवन उत्सर्ग गरे। हजारौँको सङ्ख्यामा घाइते/अपाङ्ग बनाइए र हजारौँको सङ्ख्यामा राज्यले बेपत्ता पार्‍यो। तिनीहरूको स्थिति आजसम्म सार्वजनिक गरिएको छैन। 

पुष्पलालका अनुयायी भन्न चाहनेहरूले उनका सपनासमेत साकार पार्न सकिरहेका छैनन्। नेपालका बहालवाला कम्युनिस्टले पुष्पलाल पथमा नहिँडेकै कारणले नेपाली क्रान्तिले आफ्नो लक्ष्य प्राप्त गर्न सकिरहेको छैन। पुष्पलाललाई आदर्श र संस्थापक महासचिवका रूपमा मान्दै आएका आजका क्रान्तिकारी धाराका गैर संसदीय क्रान्तिकारी कम्युनिस्ट संसदीय कम्युनिस्टहरूको भ्रमकै कारण अघि बढ्न सकेका छैनन्।