काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो तेस्रो कार्यकालमा पाँचौ पटक विश्वासको मत आज लिँदैछन्। उनले यसअघि नै विश्वासको मत मागिसकेका छन्। आफ्नो कार्यकालमा उल्लेखीय विकास र सुशासन गरेको दाबी गरेका थिए।
उनले एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिएको हो। उनले एमालेबाट आफूले धोका पाएको गुनासो गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई छक्याएको आरोप लगाए। भ्रष्टाचारविरुद्धका अभियान सुरुवात गरेकाले ठूला दलले समर्थन फिर्ता लिएको आरोप उनले लगाए।

समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पारे।‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल रु त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता रु राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन रु’, उनले भने।
स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्ने षड्यन्त्रको गन्ध आएको उल्लेख गर्दै प्रधानमन्त्रीले अस्थिरताको कारण देखाएर समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोजेको आशंका पनि जनाए ।
‘संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाएर जाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौं,’ प्रधानमन्त्रीले भने, ‘विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो । यसलाई खोसेर फेरी महिला, दलित आदिवासी जनजाति, मधेसी थारु र मुस्लिमलगायत धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्वविहिन बनाउने षड्यन्त्र किमार्थ सफल हुनेछैन ।’
प्रधानमन्त्रीले संशोधनका नाममा कसैको अधिकार खोस्न नहुने बताए । ‘हिजो जसको प्रतिनिधित्व केवल प्रतीकात्मक र निरंकुश शासकहरूको दयामा निर्भर थियो, आज त्यो सुनिश्चित र अधिकारपूर्ण छ । हिजो महिला प्रतिनिधित्व राज्य र दलहरूको विमर्शको विषयसम्म थिएन, आज केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व संविधानबाटै सुनिश्चित भएको छ ।’
उनले विश्वासको मतको प्रस्ताव प्रतिरोध भएको पनि बताए । ‘महिला, दलित, आदिवासी जनजाति माननीयज्यूहरू, सङ्ख्या पुगोस नपुगोस्, इतिहासमा तपाईंहरूको भूमिका दर्ज होस् भनेर पनि मैले विश्वासको मतको अधिकारको प्रयोग गरेर प्रतिगमनविरूद्ध प्रतिरोध सुरू गरेको हुँ,’ उनले भने, ‘यो सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो । साथ दिने नदिने तपाईहरूको विवेकको विषय भयो तर मलाई जनताप्रति भरोसा छ, जनताको साथ प्राप्त हुनेछ ।’
यसपछि बोलेका रमेश लेखकले आगामी दिनमा तीन–तीन महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था नआउन दिन नेकपा एमालेसँग सहमति गरेको बताएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी दिनमा प्रधानमन्त्रीले हरेक तीन महिनामा विश्वासको मत लिने स्थिति नबनोस् भनेर एमालेसँग सहमति गरिएको बताएका हुन् ।
‘आउँदा दिनमा एक जना प्रधानमन्त्रीले प्रत्येक तीन महिनामा विश्वासको मत लिन जानुपर्ने स्थिति नबनोस् भन्ने हाम्रो सहमतिको उद्देश्य हो । तीन महिनामा एक दिन मात्रै विश्वासको मत लिन कुनै अप्ठ्यारो थिएन तर एउटा विश्वासको मतको प्रक्रियाका लागि एक देखि दुई महिना लाग्छ,’ उनले भने, ‘त्यसको अर्थ हमेशा हामी अस्थिर सरकार सरकार बेहोरिराखेको अवस्था छ । यसको जिम्मेवार को हो, म त्यतातिर जान्न । तर, यो स्थितिको पुनरावृत्ति नहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यस कारण सहमति भएको हो ।’
लेखकले भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन कायम गर्ने भनेर स्टन्टको मात्रै राजनीतिक गरिएको पनि टिप्पणी गरे । ‘भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने विषय छ । यो रोस्टममा धेरै भ्रष्टाचारको ठूला कुरा सुनिन्छ । तर व्यवहारमा भाषण बाहेक केही छैन,’ उनले भने, ‘स्टन्टको मात्रै राजनीति भयो । अर्कालाई धम्काउने, तर्साउने काम भयो । जानै लाग्दा फाइल खोल्छु फाइल खोल्छु भन्ने कुरा भए तर प्रक्रिया अगाडि बढेन ।’
यसपछि नेकपा एमालेका सचिव एवं सांसद योगेश कुमार भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग जाँदा सँगै जाने भन्दै ढुक्क भएर बस्न आग्रह गर्नुभएको छ। सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए।
उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ‘स्वर्ग गएपनि नर्क गएपनि संँगै जाने’ भनेको कुरालाई प्रचण्डले बुझ्न नसकेको जिकिर गरे। ‘तपाईं पनि यही हलभित्रै हो। हामी सबै हो। हाम्रो अध्यक्षले स्वर्ग गएपनि सँगै, नर्क गए पनि सँगै भनेको त्यो हो। तपाईंको पदका लागि भनेको होइन। सँगै जाऔँला नि भनेका हौँ। नर्क जाँदै जाँदैनौँ,’ योगेशले भने, ‘स्वर्ग जाँदा पनि सँगै लान्छौँ। यति कुरा ढुक्क हुनुहोला। तपाईंलाई छुट्न दिँदैनौँ। तपाईंलाई छुटेर पनि अन्त जाने ठाउँ छैन। त्यो पनि ख्याल गर्नुहोला।’