काठमाडौँ- नयाँ बन्ने नेपाली कांग्रेस र नेकपा एमाले हठात् गठबन्धन गर्ने भएसँगै साना दल सकसमा परेका छन्।

ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मत मात्रैले पनि बहुमत पुग्छ। यसले पनि साना दल अब बहुमत पुर्याउन सरकारको जोडघटाउमा सहभागी हुन आवश्यक पर्दैन। साना दल यही कारण सरकारमा जान जोडबल गरिरहेका छन्।

OM Sai Pathibhara Hospital

कांग्रेस एमाले संविधान संशोधनको मुख्य एजेन्डा लिएर गठबन्धन गर्दैछन्। यदि संविधान संशोधन भएमा साना दलको सहयोग चाहिन्छ। अन्याथा, आवश्यक छैन। यही अंकगणित बुझेर पनि ठूला दल नजिकिएका हुन्।

यसो त माओवादी केन्द्रको चुरीफुरी पनि केही हदसम्म थान्को लाग्ने देखिएको छ। सधै बागडोर सम्हाल्ने माओवादी अब भने प्रतिपक्षमा पुग्ने छ। यता चौथो ठूलो दल रास्वपा पनि सत्ताबाट अलग्गिने निश्चित छ।

किनकि, कांग्रेससँग पछिल्लो समय तीव्र विवादमा फसेको रास्वपा अब सरकारमा जानेसम्भावना कम छ। यसैले पनि बिहानै निर्णय गरेर सरकारमा नजाने बताएको छ। योसँगै एकीकृत समाजवादीले समेत सरकारमा नजाने बताएको छ।

यसैले पनि साना दलको चुरीफुरी सकिने सम्भावना छ। 

संविधान संशोधनका लागि सहायता आवश्यक

ठूला दलले संविधान संशोधन गर्न भने साना दलको मद्दत आवश्यक पर्छ। संविधान संशोधनका लागि दुई तिहाइ मत चाहिन्छ। त्यो भनेको अहिलेको सांसद संख्याअनुसार १८४ मत हो। तर एमाले र कांग्रेसको मत १६७ मत पुग्छ।

१७ मत आवश्यक पर्दा साना दलबाट लिनुपर्छ। अन्यथा साना दलको आवश्यक पर्दैन। 

यता राष्ट्रियसभामा

संविधान संशोधनका लागि राष्ट्रियसभामा पनि दुई तिहाइ चाहिन्छ। तर अब बन्ने गठबन्धनसँग दुई तिहाइ छैन। हालको अंकगणित अनुसार कांग्रेसको १६, एमालेको १० गर्दा जम्मा २६ सिट छ। यसमा मनोनीत सांसद जोडिएको छैन।

मनोनीतमध्ये २ सांसद (बामदेव गौतम र अन्जान शाक्य) एमालेको कोटाबाट मनोनीत हुन्। यी दुईजोड्दा २८ सिट हुन्छ। अहिले एमाले स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल हुने सम्भावना छ।

लोसपाको हाल राष्ट्रियसभामा १ सिट छ। २९ सिट हुँदा दुईतिहाइभन्दा ११ सिट कम हुन्छ। यदि प्रतिनिधिसभाबाट संविधान संशोधन भए पनि राष्ट्रियसभाबाट पारित गर्न सकस छ। यसका लागि एमाले कांग्रेसले जनता समाजवादी पार्टी (नेपाल) र एकीकृत समाजवादीको सहायता लिनुपर्छ।

हाल राष्ट्रियसभामा जनता समाजवादीको ३ र एकीकृत समाजवादीको ८ सिट छ। यो संख्याबाहेक अन्य कुनै तवरबाट पनि कांग्रेस एमालेले राष्ट्रियसभामा मत पुर्याउँदैनन्। यसैले पनि जसपा नेपाल राष्ट्रियसभामा जान तयारी गरेको एमाले स्रोतको दाबी छ।

जसपा नेपालले आउँदो गठबन्धनमा सहभागी हुने सम्भावना रहेको बताएको छ।