काठमाडौँ- सरकार फेरिने संशयले राजनीति तरंगित बनेको छ। माओवादी केन्द्र प्रचण्डको सरकार विस्तापित हुने कांग्रेस एमाले समीकरण बन्ने तरंग राजनीतिमा छ। एमाले-कांग्रेस नेताहरू नजिकिएका र माओवादी नेताहरू विस्तापित हुने खबर जगजगायर छन्।

यद्यपि, मुख्य नेता मुख खोलेका छैनन्। यसको मुख्य तनाव प्रचण्डमाथि छ। जादूमय नम्बरको कुरा गरिरहेका प्रचण्डमाथि जादुकै छडीबाहेकको अब उपाय नभएको राजनीतिकवृतमा चर्चा हुन थालेको छ। यो हल्ला धेरै पहिलोको होइन। 

OM Sai Pathibhara Hospital

गत शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरस्थित बालकोटमा भेटवार्ता भएसँगै राजनीतिमा नयाँ ध्रवीकरणको अनुमान गरिएको छ।

छलफलमा देउवाले ओलीलाई सत्ता सहकार्यको प्रस्ताव गरेको निकट नेताहरू बताउँछन्। योसँगै सत्तारुढ दलहरूमा छटपटी बढेको छ। प्रधानमन्त्री प्रचण्ड’ले यसविषयमा चासो राखिरहेका छन्। ओलीलाई सिंहदरबार र बालुवाटार बोलाएर भेटको निष्कर्ष सोधिरहेका छन्।

यसै सन्दर्भमा कुरा गर्न हिजो ओली सिंहदरबार पुगेका थिए। जसमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने समेत थपिएका थिए। प्रचण्डले लामिछानेलाई पार्टीभित्र विवादबारे सोधेका थिए। लामिछानेले पार्टीको विवाद सामान्य रहेको जानकारी दिए। यता ओलीलाई समेत प्रचण्ड सत्ता गठबन्धन परिवर्तन गर्ने विषयका हल्ला विषयमा सोधेका थिए।

ओलीले देउवासँग सामान्य छलफल मात्र भएको कारण गम्भीररुपमा नलिन आग्रह गरेका थिए। देउवा र ओलीबीच भाबी राजनीतिमा एक भएर जाने सहमति भएकोबारे जानकारी दिन प्रचण्डले अनुरोध गरेका थिए।

ओली निकट स्रोतका अनुसार असार १५ को पर्व विशेष पारिवारिक भेटवार्ता मात्र भएको ओलीले प्रष्ट पारेका थिए। यसविषयमा प्रचण्डले एमालेका दोस्रो स्तरका नेता समेतलाई चासो राखेका थिए।

आज बिहान पनि ओलीले प्रचण्ड भेटेका थिए।स्रोतका अनुसार भेटमा कांग्रेसबाट प्रधानमन्त्रीको प्रस्ताव आएको ओलीले खुलाएका थिए।

यता प्रचण्डले भने यही समीकरणबाट प्रधानमन्त्री बन्न ओलीलाई आग्रह गरेका थिए। आज दिनभरी राजनीतिक तरंग फैलिरहेयो। कांग्रेसको पदाधिकारी बैठका समेत सरकारका विषयमा चर्चा चलेको थियो। सभापति देउवाले एमाले नेताहरू सकारात्मक रहेको प्रष्ट्याएका थिए।  

के विषयमा केन्द्रित थियो बालकोट छलफल?

ओली निवास बालकोटमा शनिबार पत्नी आरजुसहित पुगेका देउवाले एमाले अध्यक्ष ओलीलाई चुनावी सरकारको नेतृत्व भने आफूले गर्ने प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए। 

सत्ताको नेतृत्व परिवर्तनका विषयमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच लामो समयदेखि छलफल चलिरहे पनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच शनिबार पहिलो पटक छलफल भएको हो। ती नेताले भने, ‘सभापतिज्यूबाट पहिले ओलीलाई सत्ता सम्हाल्न र चुनावी सरकारको नेतृत्व आफूले गर्ने प्रस्ताव गर्नुभएको छ।’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा छ। यसैगरी एमाले सत्ता पक्षमा रहेको मुख्य ठूलो दल हो। दुई शीर्ष नेताबीच नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताबाट हटाउने विषयमा छलफल अघि बढेको कांग्रेसका ती नेताले जानकारी दिए।

‘वर्तमान सरकारबाट काम केही पनि नहुने, मुलुक हितभन्दा आफ्नो र अन्यको हित मात्र हेर्ने भएपछि दुई ठूला दल मिलेर सरकार चलाउने तयारी भएको हो’, ती नेताले भने। कांग्रेसले ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि राज्य सत्तालाई सहज ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको ती नेताको दाबी छ।

साना दलहरूले वर्चस्व बढाएर ठूला दललाई पाखा लगाउन खोजेपछि देउवा र ओलीबीच छलफल भएको ती नेताले बताए। उनका अनुसार दक्षिण छिमेकी स्थायी सरकारको परिकल्पना गरिरहेको छ भने उत्तर छिमेकी कम्युनिस्ट एक भएर सत्ता चलाएको हेर्न खोजिरहेका छन्। यस्तो अवस्थामा कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको ती नेताको भनाइ छ।

एमाले अध्यक्ष ओली पनि साना दल मिलाउनभन्दा ठूलो दलसँग सहकार्य गरेर अघि बढ्न सहज हुने निष्कर्षमा पुगेको एमालेका एक नेताले बताए। ओलीलाई माओवादी, कांग्रेस, रास्वपा र जसपाको गठबन्धन बनेमा के हुन्छ भन्ने चिन्ता पनि छ।

के होला प्रचण्डको कदम?

बालकोट भेटको विषय बाहिरिएपछि सबैभन्दा तनावमा छन्, प्रचण्ड। उनी आफ्नो पद सुरक्षित नभएको आँकलन गरिरहेका छन्।

केही दिनअघि मात्रै आफूसँग लक्की नम्बर रहेको दाबी गरेका प्रधानमन्त्री अहिले संशयका बीच सत्ता चलाइरहेका छन्। उनी एमाले-कांग्रेस नजिकिँए त्यो भन्दा पहिले नै कांग्रेससँग नजिकिँने तयारीमा छन्।

मा‌ओवादी निकट स्रोतका अनुसार उनी पुरानै गठबन्धन ब्यँताउन लाग्ने तयारीमा छन्। ‘कांग्रेसलाई समाएर भए पनि सत्ता गुम्न दिनुहुन्न भन्ने बुझाइ छ।’ माओवादी निकट स्रोतको बुझाइ छ। 

उनले सत्ता गठबन्धनका साना दलसँग पनि छलफल बढाएका छन्। यदि रास्वपा ठूला दलसँग नगएका वर्तमान गठबन्धनभित्र बहुमत खोज्ने माओवादीको तयारी छ।