काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सोमबार अपराह्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्यो।

बैठकमा गत शनिबार सभापति देउवाले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटबारे कुरा उठेको छ। उक्त भेटबारे सभापति देउवाले संक्षिप्तमा ब्रिफिङ गरेका छन्।

OM Sai Pathibhara Hospital

सभापति देउवाले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगरौं भनेका थिए।पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री ओलीसँग भएको भेटबारे सभापति देउवाले बैठकलाई जानकारी गराएको बताए।

‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ, सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य विश्वकर्माले भने।

शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म ओली निवासमा सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा के कुरा भयो भन्ने अहिलेसम्म विस्तृतमा सार्वजनिक भइसकेको छैन।


प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार अध्यक्ष ओलीले सभापति देउवालाई चिया खान निवास बालकोटमा बोलाएपछि सभापति देउवा गएका हुन्।