काठमाडौँ- नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन आइतबार (भोलि)देखि काठमाडौँमा हुँदैछ।

महाधिवेशनले समाजवादीको नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशको पूर्वाद्धमा आज समाजवादीले पत्रकार सम्मेलन गरेर महाधिवेशनको बारेमा जानकारी दिएको थियो।

OM Sai Pathibhara Hospital

महाधिवेशनबारे जानकारी दिने क्रममा नेताहरूले निर्वाचनमा नजाने र सर्वसम्मति गर्ने सन्देश दिएका छन्। 

अहिले अध्यक्षका लागि ३ नेताले आकांक्षा देखाएका छन्। वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले भाबी नेतृत्वमा चाहना राखेका छन्।  नेताहरूले विभाजित नहुने दाबी गरेका छन्। 

अध्यक्ष नेपाल पार्टी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प आफूहरूले लिएको बताए।  उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको बताए। 

उनले महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए। कम खर्चमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने बताउँदै अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसर दावी भएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई जोगाएर अघि बढ्ने जिकिर गरेका छन्। 

यता सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र कुनै पनि गुटबन्दी नरहेको स्पष्ट पारे। महाधिवेशनको मुखमा नेताहरूबिचको भेटलाई सामान्य रुपमा लिनुपर्ने उनको जिकिर थियो।

खनालले पार्टी लोकतान्त्रिक बाटोबाटै नेतृत्वबारे अन्तिम टुङ्गोमा पुग्ने जिकिर गरे। उनले यसबारे पाटीभित्र छलफल गरेर निष्कर्ष निकालिने पनि बताए।  महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताए। 

उनले समस्या समाधान गर्नुपर्ने कुराहरुलाई ध्यानमा राखेर कार्यक्रमहरू ल्याउने जानकारी गराए।  समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने उनको प्रतिवद्धता छ।