काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।IMG-20240417-WA0001 6

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

OM Sai Pathibhara Hospital

लामिछानेले भने-अदालतले न्याय दियो, न्यायमूर्तिप्रति आभारी छु

उच्च अदालत पाटनले सफाइ दिने फैसलासँगै क्रिकेटर सन्दीप लामिछानेले न्यायमूर्तिप्रति आभारी रहेको बताएका छन् । फैसलापछि राहतको लामो सास फेरेका लामिछानेले अदालतले न्याय दिएको बताएका हुन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाइदिएको छ । फैसलापछि सन्दीपले अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गर्दै सन्दीपले ढिलै भए पनि आफूले न्याय पाएको प्रतिक्रिया दिए ।‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरूप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उनले भने ।

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने, एक खेलाडी फिर्ता गर्ने

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने छन् ।

सन्दीपको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।