झापा । विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, भविष्य निर्माण हुने आधारभूमि पनि हो । तर पछिल्ला वर्षहरूमा विद्यालय समयअघि र पछाडि विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको बढ्दो प्रभाव र सामाजिक विकृतिले अभिभावक, शिक्षक र स्थानीय समुदायलाई चिन्तित बनाइरहेको छ । यही चिन्तालाई अवसरमा रूपान्तरण गर्ने प्रयासस्वरूप झापाको बाह्रदशी गाउँपालिकामा सामुदायिक विद्यालयलाई सुरक्षित र लागूऔषध दुव्र्यसनमुक्त बनाउने दीर्घकालीन अभियान सुरु गरिएको छ ।
अभियानको पहिलो पाइला बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयबाट चालिएको छ । विद्यालय परिसरमा चारवटा सिसी क्यामेरा जडान गर्दै अभियानको औपचारिक शुभारम्भ गरिएको हो । अभियान अन्तर्गत आगामी दिनमा गाउँपालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयमा क्रमशः सिसी क्यामेरा जडान गरिने योजना बनाइएको छ ।
यो अभियान कुनै सरकारी बजेटबाट होइन, समाजप्रति उत्तरदायित्व बोध गर्ने एक युवा व्यवसायीको सामाजिक अभियन्ताको प्रतिबद्धताबाट सुरु भएको हो ।
बाह्रदशी–२ निवासी तथा एभरेष्ट हाइपर मार्केटका सञ्चालक, विद्यालयका पूर्वविद्यार्थी चान मोहम्मदको सहयोगमा पहिलो चरणको काम सम्पन्न भएको हो । विद्यालयले अभियानको सुरुआत गरिदिएको भन्दै उनलाई सम्मानसमेत गरेको छ । उनको अभियानलाई साथ दिँदै विदालयका पूर्व विद्यार्थी तथा फूलवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल र ओम वुढाथोकीले पनि साथ दिएका छन् । उनीहरुलाई समेत विद्यालय परिवारले सम्मान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काले अभियानको उद्घाटन गर्दै विद्यालयको सुरक्षा केवल विद्यालयको विषय नभई समाजकै भविष्यसँग जोडिएको प्रश्न भएको बताइन् । उनले विद्यालयमा जडान गरिएका सिसी क्यामेरालाई ‘बिनावर्दीको प्रहरी’को संज्ञा दिँदै प्रविधिको प्रभावकारी प्रयोगले लागूऔषध सेवन, हिंसा, चोरी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ‘प्रहरी सबै ठाउँमा चौबीसै घण्टा उपस्थित हुन सक्दैन । तर सिसी क्यामेराले निरन्तर निगरानी गर्छ। यसले अपराध हुनुअघि नै रोकथाम गर्न ठूलो भूमिका खेल्छ,’ उनले भनिन् ।
विद्यालय समयपछि बढ्दै गएका अवाञ्छित गतिविधिले जन्मायो अभियान
विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीका अनुसार विद्यालय सञ्चालन नहुने समयमा केही बालबालिका तथा युवाहरू विद्यालय परिसरमा जम्मा भएर अवाञ्छित गतिविधि गर्ने, विद्यालयको सम्पत्तिमा क्षति पु¥याउने तथा लागूऔषध दुव्र्यसनसँग सम्बन्धित गतिविधि देखिन थालेपछि विद्यालयले सुरक्षाको नयाँ उपाय खोज्न थालेको थियो ।
उनका अनुसार विद्यालयलाई केवल भौतिक रूपमा सुरक्षित बनाउने मात्र होइन, विद्यार्थीमा अनुशासन, अभिभावकमा विश्वास र समुदायमा उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । ‘विद्यालय सुरक्षित भयो भने विद्यार्थी सुरक्षित हुन्छन्, विद्यार्थी सुरक्षित भए समाज सुरक्षित बन्छ,’ उनले भने ।
प्रहरी, विद्यालय र समुदाय एउटै अभियानमा
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य तथा बाह्रदशी–२ का वडाध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय राजगढका प्रमुख जबरबहादुर बस्नेत विशिष्ट अतिथि थिए । कार्यक्रममा समाजसेवी अमृतबहादुर बुढाथोकी, लुम्बिनी समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रतिनिधि विष्णुप्रसाद भट्टराई, वडा सदस्य इसाक आलम, युवराज ढकाल, पूर्व जनप्रतिनिधि प्रेमबहादुर घिमिरे, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा वरिष्ठ शिक्षक महेश कुमार विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रधानाध्यापक घनश्याम उप्रेतीले सञ्चालन गरेका थिए ।
पूर्वविद्यार्थीको योगदानले थपियो उत्साह
कार्यक्रमको अर्को प्रेरणादायी पक्ष पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो । सिसी क्यामेरा उपलब्ध गराएर अभियान सुरु गराएका पूर्वविद्यार्थी चान मोहम्मदले आफूले अध्ययन गरेको विद्यालयको सुरक्षाका लागि सानो योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे । कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी तथा फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले विद्यालयलाई थप एक थान आईपी क्यामेरा उपलब्ध गराउने घोषणा गरे । उनको घोषणाले अभियानलाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका थिए ।
विद्यालयबाट सुरु भएको सामाजिक अभियान
कार्यक्रममा मोहम्मद, अमृतबहादुर बुढाथोकी, विष्णुप्रसाद भट्टराई, थीरकुमार दाहाल, युवराज ढकाल तथा प्रहरी उपरीक्षक वशुन्धरा खड्कालगायत वक्ताहरूले विद्यालय सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा सामुदायिक उत्तरदायित्वका विषयमा विचार राखेका थिए ।
वक्ताहरूले लागूऔषध दुव्र्यसन नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी नभई अभिभावक, शिक्षक, स्थानीय सरकार, पूर्वविद्यार्थी र सम्पूर्ण समुदायको साझा दायित्व भएकोमा जोड दिए । उनीहरूको भनाइमा विद्यालयमा प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहयोग पु¥याउने मात्र होइन, विद्यार्थीमा अनुशासन र अभिभावकमा भरोसा पनि बढाउनेछ ।
अब सबै विद्यालयमा विस्तार
कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष भीमबहादुर कार्कीले विद्यालयको रूपान्तरण कुनै एक संस्था वा व्यक्तिबाट सम्भव नहुने उल्लेख गर्दै सबै पक्षले हातेमालो गरे मात्र सामुदायिक विद्यालयलाई गुणस्तरीय र सुरक्षित बनाउन सकिने बताए ।
उनले बाह्रदशी गाउँपालिकाभित्र रहेका १६ वटै सामुदायिक विद्यालयमा चरणबद्ध रूपमा सिसी क्यामेरा जडान गर्ने अभियान सञ्चालनमा सहयोग पु¥याउन आफू तत्पर रहेको बताए ।