काठमाण्डौ  ।   वीरेन्द्रनगरस्थित सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर- ७, स्थित मालपोत कार्यालयको जिन्सी कोठामा आगलागी भएको हो। शनिबार बेलुका कार्यालयको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

IMG-20240326-WA0001 2

जिल्ला प्रशासन कार्यालयको आडमा रहेको मालपोतको स्टोरमा बेलुका ५:१५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिए।

आगलागी भएको केही समयमै दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ। कार्यालयका कामकाजी कक्षसम्म आगो पुग्न नपाएको, आगलागीबाट स्टोरमा रहेका दराज, एउटा मोटरसाइकल, दुई वटा जेनरेटर, कुर्ची, टेबुल, पुराना कम्प्यूटर लगायतका पुराना सामग्री जलेको  छ।

थन्काइएका जेनरेटमा भएको ज्वलनशील पदार्थले आगो बढी सल्किएको हुन सक्ने अनुमान प्रहरीको छ। आगलागीको कारण भने खुल्न नसकेको डिएसपी विश्वकर्माले बताएका छन।