काठमाण्डौ । सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिक-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।
डोटीको शिखर नगरपालिका-८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ सोमबार बेपत्ता भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए।
तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । बेपत्ता तामाङको खोजी कार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं वैद्यनाथ बाहिनीबाट रबर बोटसहित गोताखोर टोली खटिएको थियो । लामो समयको खोजिकार्य पछि खोजीका लागि अत्तरियाबाट सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको नगर प्रमुख बलायरले बताए ।
सशस्त्र प्रहरी बलको गोताखोर टोली, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई नेतृत्वको टोली र स्थानीयले तीन दिन देखि खोजिकार्य जारी राखेको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।