काठमाडौँ । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ । थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।
साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने गए राति नै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजमा समेत सामेल भएका थिए । उनको सम्मानमा नेपाल सरकारले मंगलबार नेपालभर सार्वजनिक बिदा समेत दिएको थियो ।