काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

OM Sai Pathibhara Hospital

कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउँदै छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि  नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । 

IMG-20240417-WA0001

कतारका अमिरको नेपाल भ्रमणका समयमा नेपाल र कतारबीच सुरुमा नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको थियो ।

कतिवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भन्ने अझै टुंगो लागिसकेको छैन । आधा दर्जनभन्दा बढी नै सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

दुई देशबीच कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ । कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी नेपाल आउन लागेका हुन् । कतारका अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

कतारका अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी वैशाख १२ गते काठमाडौंबाट फर्कने छन् ।

यसअघि कतारका अमिर थानीले गत कात्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए ।

भ्रमणको सम्पूर्ण तयारी सकिएपछि काठमाडौंस्थित कतारको दूतावासले कात्तिक १३ गते परराष्ट्र मन्त्रालयलाई भ्रमण स्थगित गरिएको जानकारी दिएको थियो ।

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले त्यतिबेला परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको थियो । त्यसपछि अहिले पुनः कतारका अमिर थानीको नेपाल भ्रमण मिति तय गरिएको हो ।

सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो ।

जेठा दाइ शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा थानी उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । उनले सन् २०२२ मा कतारमा फिफा विश्वकपजस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पुर्याएका थिए ।

उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए । यिनै कतारका अमिर थानी आज नेपाल आउन लागेका हुन् ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरूबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगेको छ । यो अवधिमा नेपालबाट कतारमा उच्चस्तरीय भ्रमणहरू भए पनि कतारबाट हुन सकेको थिएन ।

कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालले सन् २००० मा कतारमा आफ्नो दूतावास स्थापना गरेको थियो । कतारले सन् २०११ मा नेपालमा दूतावास खोलेको थियो ।

नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्दै आएका छन् । संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।