काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको प्रहरीको भनाई छ।

OM Sai Pathibhara Hospital

ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ। रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ। यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतको भनाइ छ। यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताए। दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको उपस्थितिमा आज दिउँसो एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ।