काठमाडौँ  ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटनारहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने बताएको छ ।

OM Sai Pathibhara Hospital

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिने तथा दुर्घटनारहित होली पर्व मनाउनका लागि तयारी रहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

उश्रृखल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ र यसका लागी ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटिनेछन् ।

विशेष गरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झैँ-झगडा गर्नेलगायतका उच्छ्रिङ्खल गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिनेसमेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले रङ्गहरूको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको [मापसे र लापसे] सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर ट्राफिक चेकिङलाई कडा बनाइएको बताएका छन ।