काठमाडौं । सरकारले गृह सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा पठाएर अर्याललाई गृहमा सरुवा गरेको हो।

यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए। अर्याल गृह प्रशासन बुझेका कर्मचारीको रूपमा चिनिन्छन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले सचिव परिवर्तन गरेको हो।  

OM Sai Pathibhara Hospital

सहसचिवका रूपमा लामो समय बसेका अर्याल काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भई काम गरेका थिए ।नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय भएर काम गरेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हेर्ने आम दृष्टिकोणलाई नै बदलेका थिए । मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग भन्ने बित्तिकै नाक खुम्च्याउनु पर्ने अवस्थालाई व्यापक सुधार गरेका तत्कालीन श्रम सचिव अर्यालकै कारण मन्त्रालयको मूल्याङ्कनमा श्रम अगाडी आएको थियो । 

सुधारवादी प्रशासकका रूपमा लिइने अर्याल नेतृत्व क्षमतामा पनि अब्बल सचिवका रूपमा चिनिन्छन् । परिस्थितिलाई तत्काल नियन्त्रण गर्न सक्ने क्षमताकै कारण गृह प्रशासनमा उनको चर्चा चल्ने गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएसँगै त्यहाँसमेत उल्लेखनीय सुधार गरेका अर्याल पछिल्लो समय प्रधानमन्त्रीको रोजाईमा पर्दै आएका थिए । राजनीतिक नेतृत्वसँग स्पष्ट बोल्न सक्ने र कर्मचारीका विषयमा खुलेर बोल्न सक्ने अर्यालको गृह कमान्डलाई कर्मचारीहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । उनलाई भावी मुख्य सचिवका रुपमासमेत हेरिएको छ ।