काठमाण्डौ  ।   अब डट एनपी दर्ता गर्नका लागि शुल्क तिर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा डट एनपी (.np) डोमेन सम्बन्धमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

विधेयकको दफा ६६ अनुसार डोमेन नेम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने भएको छ । हाल नेपालमा डट एनपीको व्यवस्थापन निजी क्षेत्रको कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गर्दै आएकोमा सरकारले अब सूचना प्रविधिमार्फत यसको काम हुने उल्लेख गरेको छ ।

OM Sai Pathibhara Hospital

विधेयकको दफा ६७ मा डोमेन नेम दर्ता गर्नुपर्ने व्यवस्था उल्लेख छ । सो दफाको उपदफा (१) मा कुनै पनि व्यक्ति वा संस्थाले डटएनपी डोमेनमा नेम दर्ता गराउँदा विभाग (सूचना प्रविधि विभाग) ले तोकेको संस्थामा तोकिए बमोजिमको दस्तुर बुझाई दर्ता गर्नुपर्ने भनिएको छ ।

सोही दफामा दर्ता भएको डोमेन नेम अरू कसैले प्रयोग गर्न नपाउने जनाइएको छ । त्यस्तै दर्ता भएका डोमेन नेमसँग झुक्किने किसिमले मिल्दोजुल्दो हुने गरी डोमेन नेम दर्ता गर्न वा गराउन नहुने व्यवस्था उपदफा ३ मा उल्लेख छ ।

सरकारी निकायले आफ्नो कार्यालयको डोमेन नेम गभर्मेन्ट डट एनपी अन्तर्गत दर्ता गर्नुपर्नेछ । त्यस्तै दर्ता भएको डोमेन नेम प्रत्येक दुई वर्षमा तोकिए बमोजिमको दस्तुर बुझाई नवीकरण गर्नु पर्ने व्यवस्था पनि विधेयकमा उल्लेख छ ।

त्यसै गरी यसअघि सञ्चालनमा रहेका डोमेन नेमहरु यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र यस ऐन बमोजिम दर्ता गर्नु पर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।