काठमाण्डौ  ।   १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार बताइने प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  काठमाडौंबाट पक्राउ गरेको हो।


OM Sai Pathibhara Hospital

सीआईबीका प्रवक्ता एसपी हाेविन्द्र बाेगटीले घटनाकाे पुष्टि गर्दै थप अनुसन्धान भइरहेकाे पर्दाफासलाई बताए।

प्रहरी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा छ। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो।

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको मुख्य नाइके समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको थियो।  पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।

यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित केहीदिन अघि मुद्दा दर्ता भएको थियो।