काठमाडौँ। भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।
भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी शुक्रबार भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रित थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार हुने बोर्डर बन्द जस्ता विषयमा छलफल भएको हो । सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण र नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी समेत भएको बताइएको छ ।
बैठकमा नेपालका सीमावर्ती जिल्लाहरू सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको सहभागिता थियो । नेपालका तर्फबाट धनुषाका प्रजिअ पाण्डे र मधुवनी जिल्लाका तर्फबाट डिस्ट्रिक मेजिष्ट्रेट अरविन्द कुमार बर्माले छलफलको नेतृत्व गरेका थिए ।