काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहिबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन । पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ परेका हुन। लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ । पक्राउ परेका ब्याक्तिले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका जेसन दोहाबाट मुम्बइ हुँदै इण्डिगो एयरलाइन्सबाट बिहिबार अपराह्न ४ बजे काठमाडौँ आएका प्रहरी वरिष्ठ उपरीक्षक शर्माले बताए । भन्सार जाँच पार गरिसकेपछि शङ्का लागेको आधारमा निजको खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ । 

उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुनसहित बुझाइने प्रहरी वरिष्ठ उपरीक्षक शर्माले जानकारी दिएका छन ।