काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर अनियमितता गरेको मुद्दामा विशेष अदालतले आज फैसला सुनाउने भएको छ ।मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो । सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृतरूपमा व्यक्तिको नाममा गरी गैरकानुनी लाभ लिने १७५ जनाविरुद्धको मुद्दामा एक महिनादेखि चलेको बहस मंगलबार सकिएको थियो ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।

OM Sai Pathibhara Hospital


पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त, तथा भूमाफियाका रूपमा जग्गा कारोबारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई विपक्षी बनाइएको मुद्दामा चार वर्षपछि फैसला हुन लागेको हो ।

अख्तियारले २२ माघ ०७६ मा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता गराएको थियो । भूमाफियाको चलखेलमा चारपटक ललिता निवासको जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता भएको दाबी गरिएको छ ।