काठमाडौँ । भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । 

टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो ।

OM Sai Pathibhara Hospital

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । टिकटकले नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको प्रस्ट पारेको छ । 

त्यसै गरी टिकटकमा प्रसारित सामग्रीलाई प्रत्यक्ष रूपमै रिपोर्टिङ  गर्ने पहुँच र सामग्रीसँग सम्बन्धित सरोकारलाई सम्बोधनका लागि सम्पर्क सूत्र बनाउने पनि प्रस्ट पारेको छ । टिकटकले प्रसारित सामग्रीका सन्दर्भमा फिल्टरिङ र मध्यस्थता अझै वृद्धि गर्न नेपालीभाषी स्रोतलाई अझ विस्तार गर्ने पनि जनाएको छ । 

साथै राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि टिकटकले सरकारलाई आग्रह गरेको छ । टिकटकले विद्यालय र क्याम्पसका विद्यार्थीलाई लक्षित गरी शैक्षिक नतिजा सुधार गर्न शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाई डिजिटलाइज्ड गर्न सहकार्यको पनि प्रस्ताव गरेको छ । 

टिकटकले समुदायसम्बन्धी दिशानिर्देशलाई पूर्ण पालना गरिरहेको दाबी गर्दै नेपाल र विदेशमा बसोबास गर्ने नेपालीमाझ यस प्ल्याटफर्मको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।

आइतबार फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले पत्र लेखेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही दिन अगाडि सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याएको थियो, जसमा यस्ता प्लेटफर्म नेपालमा दर्ता गर्नुपर्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने जस्ता प्रावधान छ ।

टिकटकले आइतबार पठाएको पत्रमा नेपालको यो व्यवस्था पूरा गर्न तयार रहेको बताएको छ । पाँचबुँदे पत्रको पहिलो बुँदामा नै टिकटकले नेपालको कानुनी प्रक्रिया पुरा गर्न तयार रहेको बताएको छ ।

प्रतिबन्ध लगाउँदा नेपाल सरकारले देखाएको कारणलाई पनि सम्बोधन गर्ने प्रयास पनि टिकटकले गरेको छ । सरकारले सामाजिक तथा पारिवारिक सद्भावमा खलल पु¥याउने खालका कन्टेन्ट टिकटकमा आएको तर्क गरेको थियो । नयाँ पत्रमा टिकटकले आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्टबारे नेपालको चासो वा सरोकार प्रत्यक्ष राख्न दिने र त्यसलाई सम्बोधन गर्न फोकल प्वाइन्ट (सम्पर्क बिन्दु) तोक्ने समेत बताएको छ ।

साथै नेपाली भाषाका सामाग्रीहरुको फिल्टर गर्न आवश्यक प्रबन्ध गर्ने समेत प्रतिबद्धता जनाएको छ । टिकटकमा नेपाली भाषा प्रयोग भएका कतिपय अश्लिल समाग्रीहरु प्रणालीले नचिन्दा फिल्टर नहुने समस्या छ । त्यसैलाई ध्यानमा राखेर टिकटकले सामग्री फिल्टरिङ र मध्यस्थता बढाउन नेपाली भाषाको सोर्स पनि अनबोर्ड गर्ने टिकटकको प्रतिबद्धता छ ।

टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ । शैक्षिक नतिजा सुधार्न विद्यालय र कलेज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री डिजिटलाइज्ड गर्न सहयोग गर्ने प्रतिबद्धता पनि टिकटकले जनाएको छ । ‘हामी एउटा यस्तो पक्षमा काम गर्न तपाईंको हार्दिक सहयोग खोज्छौं र नेपालमा टिकटक प्रतिबन्ध खोल्न अनुरोध गर्न चाहन्छौं,’ मन्त्री शर्मालाई टिकटकले लेखेको पत्रमा उल्लेख छ ।

पत्रमा शान्तिप्रेमी, विनम्र र सांस्कृतिक विविधतायुक्त नेपाली समुदायले टिकटकलाई आफ्नो प्लेटफर्म ठान्ने गरेको उल्लेख छ । ‘विश्वव्यापी डिजिटल प्लेटफर्मको रूपमा प्रयोगकर्ता र प्लेटफर्मको सुरक्षा सुनिश्चित गर्नु हाम्रो मुख्य चासो हो,’ पत्रमा भनिएको छ, ‘४० हजारभन्दा बढी सुरक्षाविज्ञहरूले विश्वव्यापी रूपमा टिकटकका बलियो सोसियल गाइडलाइन्स कायम राख्न र लागू गर्न नवीन प्रविधिको साथ काम गर्छन् ।’ टिकटकले पत्रमा सामग्रीमा देखिने स्थानीय सांस्कृतिक र कानुनी सन्दर्भहरु पनि हेर्ने गरेको उल्लेख गरेको छ