काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने बताएको छ । पार्टी नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसद्बाट पास भए पनि आफूहरुले त्यसलाई लागू हुन नदिने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा गजुरेलले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।

OM Sai Pathibhara Hospital

नेता गजुरेलले श्रीलंका सरकारले पनि संसद्बाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने बताए । उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने जानकारी दिए ।

नेता गजुरेलले भने, ‘एमसीसी अब लागूृ गर्ने चरणमा गएको छ । हामीले सम्झौता खारेज गर्न प्रयास गर्यौ, सकेनौं । सम्झौता त संसद्बाट पास गरे । आगामी १४ गते ठाउँ ठाउँमा परियोजना लागू गर्दैछन । हामीले त्यसैलाई लक्षित गरेको हो । आज यो कार्यक्रम त्यसैका लागि हो ।’

उनले परियोजना लागू नगर्ने अधिकार सरकार र जनातालाई भएको बताए । ‘सरकारले लागू गर्न सक्दिन भन्ने अधिकार सरकारलाई छ । लागू नगर्ने अधिकार नेपाली जनतालाई छ । त्यसकारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै अहिले संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौं । त्यसलाई हामीले अस्विकार गर्छौं,’ उनले भने ।

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि ठाउँठाउँमा हुने बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे ।