पथरी २७ चैत्र । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाल नेपालीले जितेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरस्थित फ्रेण्डसिप चेस क्लबले आयोजना गरेको प्रतियोगितामा काभ्रेका खोमप्रसाद तिम्सिनालाई पछि पार्दै नेपालीले उपाधि जितेका हुन ।तीन पटकका नेपाल च्याम्पियन नेपालीले उपाधिसँगै ५१ हजार रुपियाँ पुरस्कार पाएका छन् । काभ्रेका खोमप्रसाद तिम्सिना दोस्रो हुँदै ३५ हजार रुपियाँ पुरस्कार पाए भने झापाका प्रकाशचन्द्र नेपाल तेस्रो हुँदै २५ हजार प्राप्त गरे ।
यस्तै चौथो स्थान हासील गर्ने पुकार राईले २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्दा पाँचौ हुने नवीन तुण्डकारले १५ हजार रुपियाँ प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट १५ खेलाडीलार्र्ई पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । यस्तै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने संघ सस्था,समाजसेवी लगायतलाई समेत कदर पत्रद्धारा सम्मान गरीएको थियो ।
प्रतियोगितामा झापा, मोरङ, सुनसरी, भोजपुर, रौतहट, काठमाडौं, काभ्रे, लमजुङ, रुपन्देही, इलाम जिल्ला गरी एक सय १० खेलाडीको सहभागिता रहेको थियो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा ४ दिनसम्मा सञ्चालन भएको प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिका मुख्य सहयोगी रहेको थियो ।
फ्रेण्डसिप चेस क्लब पथरीशनिश्चरेका अध्यक्ष अमिर राईको सभापतीत्व नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व चेस खेलाडी, विभिन्न विद्यालयका संञ्चालक समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।