झापा / केही दिनअघि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरू अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीमा छन् । 

समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार पुर्‍याउनुपर्ने कानूनी बाध्यता छ । प्रत्यक्षतर्फ पनि सोही अनुपातमा उम्मेदवार पुर्‍याउन कांग्रेसका महिला नेत्रीहरू तीब्र लबिङमा छन् । कतिपयले त खुलारूपमा टिकटको दाबेदारी गरेर फिल्डमा चुनावको तयारी गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

संसद्मा आउन चाहेका कांग्रेसका केही प्रभावशाली महिला नेत्रीहरूले भने समानुपातिकको सजिलो बाटो रोजेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा शुरुमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा गरे पनि अन्तिममा भने समानुपातिक उम्मेदवारको सूचीमा नाम लेखाइएकी छिन् । 

समानुपातिकतर्फ महिलाहरू मध्ये उनको नाम पहिलो स्थानमा छ । सूचीको ८ औं नम्बरमा उनको नाम समावेश भए पनि उनीभन्दा अगाडि अरू ७ जना पुरुष नेताको नाम उल्लेख भएको छ । 

आरजु लगत्तै गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाणको नाम समावेश भएको छ । तर, कतिपय महिला नेतृहरू भने समानुपातिकको सजिलो बाटो छाडेर प्रत्यक्षतर्फ उम्मेदवार बन्ने दौडधुपमा छन् । 

२०७४ को चुनावबाट प्रतिनिधि सभामा जम्मा ६ जना महिला प्रत्यक्षतर्फबाट चुनाव जितेर आएका थिए । त्यसमा पनि दलहरूले असाध्यै थोरै सङ्ख्यामा मात्रै महिला उम्मेदवारलाई टिकट दिएका थिए । 

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा एक मात्र महिला रहेकी महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुरबाट चुनाव लड्ने तयारीमा छिन् । २०७४ सालको चुनावमा डिना तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । यसपटक ५ वर्ष अगाडिको हार बिर्साउने उनको सोच छ । तर, सत्तारूढ गठबन्धनमा उक्त क्षेत्र कुल दलको भागमा पर्छ भन्ने कुराले भने उपाध्यायको उम्मेदवारी अन्योलमा छ । 

खतिवडा गठबन्धनमा रहेको एकीकृत समाजवादीका शसक्त नेता हुन् । वाम तालमेल हुँदा मकवानपुर २ मा एसका नेता खतिवडाले दाबी गरिरहेका छन् ।

अहिले उपसभामुखको जिम्मेवारीमा रहेकी कांग्रेस नेतृ पुष्पा भुसाल अर्घाखाँचीबाट चुनाव लड्ने मनस्थितिमा छिन् । २०७४ सालमा समानुपातिकबाट सांसद बनेकी भुसाल अब भने प्रत्यक्षतर्फकै उम्मेदवार बन्दा उनले एमालेका सचिव टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । गठबन्धनमा उक्त क्षेत्र कांग्रेसको भागमा पर्‍यो भने उनले टिकटकै लागि कांग्रेसभित्र ठूलै प्रयास गर्नुपर्ने हुन्छ । 

कांग्रेसको १४ औं महाधिवेशनमा महिलातर्फ सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी डिला संग्रौला मोरङबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छिन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको मेयरको टिकट पाएको भए चुनाव लड्ने मुडमा रहेकी संग्रौला अहिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमै चुनाव लड्ने तयारीमा रहेको बताउँछिन् । 

उनी मोरङ ६ बाट चुनाव लड्ने दाबी गरिरहेकी छिन् ।  तर, मोरङ ६ कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाको क्षेत्र हो । मोरङ ६ बाट शेखरसँगै संग्रौलाको नाम पनि सिफारिश भएको छ । उनको हकमा पनि उक्त निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्छ कि पर्दैन भन्ने कुराले उम्मेदवारी के हुने भन्ने टुंगो लाग्छ । 

कांग्रेसकी केन्द्रीय सदस्य रहेकी चित्रलेखा यादव संसद्को कार्यकाल सकिनुअघि नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतक थिइन् । उनी २०५६ मा सिरहा– २ बाट प्रत्यक्ष निर्वाचित भएर उपसभामुख बनेकी थिइन् ।

२०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । तर, यसपटक भने उनको नाम सिरहा–१ बाट प्रत्यक्षतर्फ सिफारिश भएको छ । 

उक्त क्षेत्रबाट उम्मेदवार बन्दै आएका कांग्रेस नेता प्रदीप गिरीको केही समयअघि निधन भएको छ । गठबन्धनको भागबण्डामा सिरहा– १ कांग्रेसले पाउँदा यादव नै उम्मेदवार बन्ने अवस्था रहेको कांग्रेसका नेताहरू बताउँछन् ।

पूर्व परराष्ट्रमन्त्री  सुजाता कोइरालाले मंसिर ४ को चुनावमा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने चाहना व्यक्त गरेकी छिन् । कांग्रेसमा गुट परिवर्तन गरेर प्रकाशमान सिंह खेमा हुँदै सभापति देउवाको खेमामा पुगेकी सुजाताले कांग्रेसका अर्का नेता मिनेन्द्र रिजाल उम्मेदवार हुँदै आएको मोरङ– २ बाट उम्मेदवार बन्ने आकांक्षा राखेकी छिन् । 

मोरङ– २ बाट कोइराला र रिजाल दुवैको नाम सिफारिश भएको छ । यसअघि कोइराला पटक–पटक समानुपातिक सांसद बनेकी थिइन ।

उनीहरूबाहेक कांग्रेसमा प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि धेरै महिला आकांक्षीहरूको नाम सिफारिश भएको छ । कांग्रेसमा सर्वसम्मत उम्मेदवार सिफारिश भएका महिला नेत्रीहरूको संख्या नै करीब २ दर्जनको हाराहारीमा छ ।

कांग्रेसमा तेह्रथुबाट सीता गुरुङ, सुनसरी– १ मा लक्ष्मी खतिवडा, इलामबाट सुजाता परियार, झापा– २ बाट सरिता प्रसाईं, झापा–५ बाट महेन्द्रकुमारी सुब्बाको नाम सर्वसम्मत सिफारिश भएको छ । 

धनुषा– २ बाट मुक्ताकुमारी यादव, महोत्तरी– २ बाट किरण यादवको नाम पनि सर्वसम्मतरूपमा उम्मेदवार सिफारिश भएको छ । बाँके– २ बाट किरण कोइराला, बाँके– ३ बाट आशा विक, कैलाली– १ ईश्वरी न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस भएका छन् ।

बागलुङ– १ बाट चम्पादेवी खड्काको नाम सिफारिश भएको छ भने काठमाडौं– २ मा प्रतिमा गौतम, काठमाडौं– ३ बाट अम्बिका बस्नेत, काठमाडौं– ८ मा सपना जोशी, काठमाडौं–९ मा नानु बाँस्तोला, ललितपुर– २ मा धना खतिवडा, सिन्धुली– २ मा सुशीला थिङ र चितवन– ३ मा अञ्जली श्रेष्ठको नाम सिफारिश भएको छ ।