• सरोज निरौला 

OM Sai Pathibhara Hospital

काठमाडौँ  / केही ठूला सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसकेर समस्यामा परेपछि सहकारी अभियानले आज संयुक्त अपिल जारी गर्दै सबै सहकारीमा तरलताको समस्या नरहेको स्पष्ट पारेको छ । 

राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका विषयगत सङ्घहरूले संयुक्त अपिल जारी गरेका हुन् ।
 
अपिल सार्वजनिक गर्दै अभियानले संस्थालाई असजिलो परेको बेला सहयोग गर्ने जिम्मेवारी सदस्यहरूको भएकाले आफू आवद्ध संस्थालाई दिगो, विश्वसनीय बनाउन सबै सदस्यलाई आह्वान समेत गरेको छ ।

कार्यक्रमका बोल्दै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले पछिल्लो समयको डरलाग्दो व्यापार घाटाले केही सहकारीमा तरलताको समस्या देखिएको र यसलाई कम गर्दै लैजाने बताए । पछिल्लो समय व्यक्तिगत, पारिवारी सहकारी खोलिनुले अन्य सहकारीको पनि विश्वसनीयता घटेको र त्यस्ता सहकारीलाई कारवाहिको दायरामा ल्याउ पर्ने उनको भनाइ छ । 

सहकारी ऐन कानुनमा व्यवस्था भए बमोजिम कूल बचत निक्षेपको १० देखि २० प्रतिशत रकम तरलता व्यवस्था गर्दापनि एकैपटक सबै सदस्यलाई बचत निक्षेप फिर्ता गर्न सम्भव नहुने अपिलमा उल्लेख छ । 

यसैगरी अपिलमा केन्द्र देखि स्थानीय तहसम्म हाललाई नगरक्षेत्रमा नयाँ सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र शाखा विस्तारमा रोक लगाउन माग गरिएको छ । पछिल्लो समय सहकारीको खुल्ने क्रम बढ्दो अवस्थामा रहेको हुँदा नयाँ सहकारी संस्था दर्ता कार्यक्षेत्र विस्तारमा रोक लगाउनु पर्ने उल्लेख गरिएको छ । 

कार्यक्रममा पत्रकारले राखेको जिज्ञासाको प्रतिक्रिया दिँदै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारी सुरक्षाको विषय मुख्य प्राथमिकतामा रहेकोले सहकारीमा आवद्ध रहनेलाई वित्तिय सुरक्षाको प्रत्याभूति दिने कोसिस गरिरहेको बताए ।

सङ्घहरूले ऐच्छिक साधारण एवं कारोबार बचतको भुक्तानी गर्दा सदस्यहरूलाई साप्ताहिक, मासिक वा आपसी सहमतिमा बचत रकमको एकपटकमा बढीमा ५ प्रतिशत मात्रै भुक्तानी गर्नु व्यवस्था मिलाउन अपिल गरेका हुन् । 

सदस्यहरूले राखेको बचत एकै पटक माग गर्दा संस्थाको भुक्तानी प्रकृया असन्तुलन हुने सङ्घहरूको भनाइ छ । सङ्घहरूले यसअघि समस्याग्रस्त भएका केही सहकारी संस्थाहरूको नकारात्मक प्रभावले संस्थामा यथेष्ट रुपमा तरलता व्यवस्था गर्न कठिनाइ परिरहेको बताउँदै संस्थामा सदस्यहरूले सेयरको रुपमा लगानी गरेका सेयर पुँजी निश्चित अवधिपछि एकमुष्ट भुक्तानी लिने गरी राखिएको आवधिक (मुद्दति) बचत, क्रमिक बचत रकम अवधि समाप्त हुनु अगावै सकेसम्म फिर्ता नगर्ने व्यवस्था मिलाउने पनि आग्रह सहकारी अभियानको छ ।