काठमाडौं / चालु आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । 

नेपाल राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ र भूमि व्यवस्था मन्त्रालयले कित्ताकाटमा अंकुश लगाउँदा घरजग्गा कारोबारमा मन्दी आएको हो ।

OM Sai Pathibhara Hospital

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार साउनमा जम्मा ३३ हजार ८३४ घरजग्गा किनबेच भएको छ । यो असारको तुलनामा १३ हजार २४८ कम हो । असारमा देशभरका मालपोत कार्यालयहरूबाट ४७ हजार ८२ घरजग्गा किनबेच भएको थियो ।

बैंकिङ प्रणालीमा भएको चरम तरलता अभावका कारण ऋण पाउन मुस्किल भएपछि घरजग्गा कारोबार सुस्ताएको हो । साथै, राष्ट्र बैंकले घरजग्गामा जाने कर्जाका अंकुश लगाउँदा कारोबार प्रभावित हुन पुगेको हो ।

राष्ट्र बैंकले गत वर्ष मौद्रि नीतिको अर्धवार्षिक समीक्षा मार्फत घरजग्गामा प्रवाह गरिने कर्जाको जोखिमभार बढाएर १०० प्रतिशतबाट १५० प्रतिशत कायम गरेको थियो । सोसँगै बैंकहरूले घरजग्गामा जाने ऋण घटाउन थालेका थिए ।

यस्तै, सरकारले गत जेठ २२ मा भू-उपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै घरजग्गाको कारोबार घट्न थालेको हो । सरकारले कृषियोग्य जमिन कित्ताकाटमा बन्देज लगाएसँगै टुक्रा जग्गा अभाव हुँदा कारोबार ओरालो लागेको हो ।

भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार स्थानीय तहहरुलाई पत्राचार गरेर २३ मंसिर भित्र आफ्नो क्षेत्राधिकार भित्रको जग्गा कृषियोग्य र गैरकृषि क्षेत्रगरी छुट्टाउन भनेको छ । जसको कारण पनि आगामी केही महिना घरजग्गा किनबेच प्रभावित हुने देखिन्छ ।

अनुत्पादक क्षेत्रमा बैंकहरूले कर्जा लगानी गरेको भन्दै कडाइ गदै आएको राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत पनि यस्ता क्षेत्रमा गरिने कर्जाको ब्याजदर महँगो बनाएको छ । जसको प्रत्यक्ष असर घरजग्गा व्यवसायमा परेको देखिन्छ ।

मालपोत कार्यालयहरूका अनुसार बैंकहरूबाट समयमै ऋण पाउने अवस्था नहुँदा र भू- उपयोग नियमावलीका कारण घरजग्गाको कारोबारमा मन्दी आएको हो । साथै, साउन महिना घरजग्गा कारोबारको सिजन नभएकाले पनि कारोबार घटेको हुनसक्ने व्यवसायीहरू बताउँछन् ।

वैशाख यता घरजग्गा कारोबारमा सुस्ताएको छ । वैशाखमा ४४ हजार किनबेच भएको थियो भने जेठमा कुल ५४ हजार ५१४ घरजग्गा किनबेच भएको थियो ।