झापा / क्रिप्टो करेन्सी कारोबारको अभियोग लागेका व्यवसायी अमित श्रेष्ठ जेल चलान भएका छन् । विशाल सिमेन्टका पूर्वसञ्चालकसमेत रहेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

OM Sai Pathibhara Hospital
 नेपालमा अवैध रहेको क्रिप्टो कारोबार गर्ने गरेको आशङ्कामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको विदुर नगरपालिका –२ घर भई काठमाडौं बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई गत असार २९ गते पानीपोखरीबाट पक्राउ गरेको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गरेर कारबाहीका गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो । सुरुमा अभद्र व्यवहारमा मुद्दा प्रक्रिया अघि बढाएकोमा पछि अनुसन्धानमा क्रिप्टो करेन्सीमा समेत संलग्न देखिएको जनाएको छ ।

श्रेष्ठबाट बरामद मोबाइल, ल्याटपलगायत डिभाइस जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको थियो । फरेन्सिक ल्याबले बरामद डिभाइसबाट क्रिप्टो करेन्सी कारोबार हुने तथ्य फेला परेको रिपोर्ट दिएपछि सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

शंकास्पद रकममा श्रेष्ठसमेत सदस्य रहेको भाइबर गु्रप ‘फिटबेला एक्सचेन्ज’बाट क्रिप्टो करेन्सी कारोबार हुने गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । साथै, श्रेष्ठसँग रहेको विभिन्न बैंकमा जम्मा भएको रकम विषयमा पनि प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धान क्रममा रोयल बैंक अफ क्यानडा, कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा रकम रहेको पाइएको छ । सन् २०१९ जुलाई २ देखि सन् २०१९ अगस्ट ८ सम्मको एक महिनाकै अवधिमा रोयल बैंक अफ क्यानडामा १ करोड ९५ लाख ४६ हजार २ सय ५२ रुपैयाँबराबरको डलर श्रेष्ठले जम्मा गरेको खुलेको छ ।

त्यस्तै, सन् २०१९ जनवरी ७ देखि सन् २०१९ अप्रिल २४ सम्मको अवधिमा कमनवेल्थ बैंक अस्ट्रेलियाको खातामा १ करोड ५० लाख ६२ हजार २ सय ७९ रुपैयाँ बराबरको डलर जम्मा भएको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गत कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को देहाय (घ) अनुसारको कसुर गरेको ठहर गरिएको छ । अनुसन्धान प्रतिवेदनमा सोही कसुरअनुसार सजाय मागदाबी गर्न सिफारिस गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को देहाय (घ)मा इजाजतबिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाइएको छ ।

सोही ऐनको दफा १०४ को उपदफा (१) को देहाय (ग) मा इजाजतबिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्नेलाई बिगो भए बिगो जफत गरी बिगोबराबरको जरिवाना र १ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो ।

श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाविपरीत गैरकानुनी रूपमा भर्चुअल मुद्रा कारोबार गरेको अभियोग पत्रमा दाबी गरिएको छ । श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।

दफा ९५ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध दफा ९६ को उपदफा (१) अन्तर्गत बिगोको ३ गुणासम्म जरिवाना र सात वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो ।