झापा / पछिल्लो सयमा जलविद्युतमा लगामा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । सरकारका साथै निजी क्षेत्रका व्यवसायीहरूले पनि धमाधम हाइड्रोपावरमा लगानी गरिरहेका छन् ।

एकपटक लगानी गरिसकेपछि निरन्तर आम्दानी हुने, उत्पादित बिजुली खेर गए पनि सम्झौता अनुसार पैसा आउने, नेपालमा खपत नभए विदेशसम्म निर्यात गर्न सक्ने लगायत कारणले हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

OM Sai Pathibhara Hospital

साथै, सरकारले जलविद्युतमा लगानी गर्नेलाई विभिन्न सहुलियत तथा छुट दिएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् । हाल निजी लगानीका १२० बढी हाइड्रोपावर निर्माणधीन अवस्थामा रहेका छन् भने सरकारी लगानीका आधा दर्जन आयोजना निर्माण भइरहेका छन् ।

नेपाल प्राधिकरणका अनुसार हाल निर्माणधीन आयोजना सम्पन्न भएमा सन् २०२४ सम्ममा थप ३ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ । हाल करिब दुई हजार २०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा हाइड्रोपावरमा १ खर्ब ७० अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत वर्ष ४९ वटा ऊर्जासम्बन्धी कम्पनी दर्ता भएका छन् । ती कम्पनीले कुल १ हजार ५६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् । ती कम्पनीहरूले जलविद्युत् र सोलारबाट विद्युत् उत्पादन गर्ने जनाएका छन् ।

गत वर्षमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा १९ वटा बढी ऊर्जासम्बन्धी उद्योग दर्ता भएका हुन् । सो आवमा ३० वटा कम्पनी दर्ता भएका थिए भने १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।