बिर्तामोड / झापाका १५ वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । 

दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पहिलो आवको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । 

OM Sai Pathibhara Hospital

बिर्तामोड नगरपालिका 

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँ बजेट प्रस्तुत गरेको छ  ।

शुक्रबार भएको नगर सभामा नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले नगर प्रमुख पवित्रा महतरा प्रसाईँले पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेश गरेका हुन् । 

बजेटमा आय तर्फ सङ्घीय समीकरण अनुदानबाट २३ करोड ६० लाख, सङ्घीय सरकार राजश्व बाँडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ४ सय ९० रुपैयाँ प्राप्त हुने बताइएको छ ।  

यसैगरी यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिस्ट्रेसन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुनेछ भने सङ्घीय सशर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पूँजीगततर्फ १७ करोड १८ लाख, विशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण सभामा प्रस्ताव गरिएको हो ।

चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशु विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिइने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरू तथा लक्षित वर्ग, पुँजीगत तर्फ बहुवर्षे तथा क्रमागत योजनाहरूको निरन्तरता, शिक्षा, कृषि, पशु विकास, तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत सम्भार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडा स्तरीय योजना तथा कार्यक्रमहरू, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरूको भवन घेराबारा तथा मर्मत, फोहोर मैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरूमा विनियोजन हुने गरी बजेट प्रस्ताव गरिएको उपप्रमुख सङ्ग्रौलाले बताए ।

कनकाई नगरपालिका

कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७३ करोड, ८५ लाख ६१ हजार ४२० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

कनकाईकी उपप्रमुख आशा शर्मा सिवाकोटीले शुक्रबार भएको नगरपालिकाको ११ औ नगर सभामा उक्त बजेट पेस गरेकी हुन् । 

नगर उपप्रमुख सिवाकोटीले बजेटमा ६८ वर्षमाथिका उमेर पुगेका र तोकिएका समूहका व्यक्तिहरूको करिब २५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको बताइन् ।  

सिवाकोटीका अनुसार बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैयाँ अनुदान रकम, प्रदेश एक सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाँडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशन बापत प्राप्त हुने २ करोड, नगरपालिकाबाट प्राप्त आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रकमलाई विभिन्न शीर्षकमा विनियोजन गरिएको छ । 

जसमा कृषि तथा पशुपक्षी कार्यक्रममा २ करोड २५ लाख रकम विनियोजन गरिएको छ भने शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाइमा ५० लाख, वन वातावरण, संस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला बालबालिका तथा लक्षित वर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत् विस्तारमा ३५ लाख लगायत रहेको छ ।

यसैगरी कनकाई नगरपालिकाका ९ वटै वार्डलाई ९ करोड ६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ भने यस वर्षको बजेटमा कृषि र पशुपालनको रूपान्तरण र प्रविधिको प्रयोग बढाइ आधुनिकीकरण र व्यवसायीकरण गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाइने, गरिब र भूमिहीनलाई व्यवस्थापन गरिने, पर्यटकीय क्षेत्रको उजागर गरी आर्थिक विकास गरिने लगायतलाई प्राथमिकतामा राखिएको नगर उपप्रमुख सिवाकोटीले बताइन् । 

दमक नगरपालिका

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ६३ करोड ४० लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ । दमककी उपप्रमुख रेगिना भट्टराईले शुक्रबार भएको नगर सभामा उक्त बजेट पेस गरेकी हुन् ।  । 

जसमा ८३ करोड ३३ लाख ६० हजार अर्थात् कुल बजेटको ५१ प्रतिशत बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ८० करोड ६ लाख ७९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ४९ प्रतिशत पुँजीगत खर्चका लागि छुट्ट्याइएको छ ।

उपप्रमुख भट्टराईले पेस गरेका बजेटका श्रोतका आधारमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समीकरण अनुदान मार्फत २१ करोड ९२ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार, प्रदेश सरकारको वित्तीय समीकरण अनुदानबाट १ करोड २३ लाख ३५ हजार रुपैयाँ, प्रदेश सरकारको सवारी साधन कर बाँडफाँडबाट ७० लाख ९९ हजार रुपैयाँ, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागिताबाट ५ करोड प्राप्त हुने अनुमान गरिएको छ ।  

विपन्नताका लागि आर्थिक वर्ष ०७९र८० मा गरिबी न्यूनीकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराइने पनि कार्यक्रममा समेटिएको छ । कार्ड मार्फत शिक्षा,स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । 

जस अन्तर्गत क्रमशः सबै अति विपन्न परिवारहरू समेटिने लक्ष लिइएको छ । यस वर्षको बजेटले नगरका १ हजार परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने समेत नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

अर्जुनधारा नगरपालिका

अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८०को लागि अनुमानित ७४ करोड एक लाख ५३ हजार दुई सय तीस रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

अर्जुनधाराकी उपप्रमुख खड्गमाया पराजुलीले  शुक्रबार भएको नगरपालिकाको ११ औ नगर सभामा उक्त बजेट  पेस गरेकी हुन् । 

प्रस्तुत बजेटको आय तर्फ नेपाल सरकार वित्तीय समानिकरणमा १९ करोड ११ लाख रुपैयाँ, राजश्व बाँडफाँडमा १२ करोड ४५ लाख १२ हजार रुपैयाँ, सशर्त अनुदानमा २७ करोड ४१ लाख रुपैयाँ, विशेष अनुदानमा दुई करोड १० लाख रुपैयाँ, समपूरक अनुदानमा ८० लाख रुपैयाँ र मालपोत रजिस्ट्रेसन बाँडफाँडमा तीन करोड रुपैयाँ प्राप्त हुने बताईको छ । 

त्यस्तै प्रदेश सरकार वित्तीय समानिकरणमा एक करोड छ लाख ७५ हजार रुपैयाँ, राजश्व बाँडफाँड ९सवारी०मा एक करोड ५६ लाख ४३ हजार दुई सय ३० रुपैयाँ, सशर्त अनुदानमा एक लाख २३ हजार रुपैयाँ र समपूरक अनुदानमा एक करोड रुपैयाँ तथा आन्तरिक आयमा पाँच करोड ५० लाख रुपैयाँ प्राप्त हुने छ ।

त्यस्तै बजेटको व्ययतर्फ प्रशासनिक खर्चमा १५ करोड रुपैयाँ, सशर्त कार्यक्रम (नेपाल सरकार) मा २७ करोड ४१ लाख रुपैयाँ, सशर्त कार्यक्रम (प्रदेश सरकार)मा एक लाख २३ हजार रुपैयाँ, विशेष अनुदानबाट सञ्चालन हुने कार्यक्रम (नेपाल सरकार)मा दुई करोड १० लाख रुपैयाँ, समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रम (नेपाल सरकार)मा ८० लाख रुपैयाँ, समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रम (प्रदेश सरकार)मा एक करोड रुपैयाँ उल्लेख गरिएको छ ।

यता वित्तीय व्यवस्थामा ४० लाख रुपैयाँ, आर्थिक विकासमा एक करोड ५० लाख रुपैयाँ, पूर्वाधार विकासमा पाँच करोड पाँच लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा एक करोड २५ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ, सामाजिक विकासमा चार करोड ४९ लाख ३० हजार दुई सय ३० रुपैयाँ, समपूरक कोषमा दुई करोड रुपैयाँ, साझेदारी कोषमा एक करोड रुपैयाँ, वडास्तरीय कार्यक्रममा ११ करोड रुपैयाँ बजेट विनियोज गरिएको छ । 

भद्रपुर नगरपालिका

भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

शुक्रबार आयोजित नगरपालिकाको ११ औं नगर सभामा उपप्रमुख राधा कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।  

कार्कीले विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताइन् । 

चालु आर्थिक वर्ष २०७८/९८ मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ ।
 
ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार,  प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार,  समपूरक अनुदानबाट २ करोड,  सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार,  विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ । 

मेचीनगर नगरपालिका 

मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको नगर सभामा नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

नगरउपप्रमुख उप्रेतीले सञ्चित कोषबाट विनियोजित रकम चालु खर्चतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्च ७० लाख ४ लाख ४ हजार १६, वित्तिय व्यवस्थातर्फ ६० लाख गरी कुल १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । 

हल्दिबारी गाउँपालिका

हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ४६ करोड ४३ लाख ४४ हजार ६७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार आयोजित बाह्रौँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले अख्तियारी दिएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । 

बजेटमा चालु खर्च तर्फ ७ करोड १४ लाख ५० हजार, गाउँपालिका पुँजीगत खर्च २० लाख,सशर्त अनुदान सङ्घीय सरकार १७ करोड ५३ लाख , सशर्त अनुदान प्रदेश सरकार १२ लाख ३ हजार ,समपूरक अनुदान सङ्घीय सरकार १ करोड , समपूरक अनुदान प्रदेश सरकार १ करोड र वडा स्तरीय कार्यक्रममार्फत १ करोड ९५ लाख रहेको छ भने अन्य विषयगत क्षेत्रअन्तर्गत आर्थिक विकास १ करोड २ लाख , सामाजिक विकास ४ करोड ९२ लाख ८१ हजार ६७० ,पूर्वाधार विकास १० करोड २३ लाख ५० हजार , वन वातावरण तथा विपद् व्यवस्थापन १५ लाख , सुशासन तथा संस्थागत विकास ३१ लख ४० हजार , विविध कोषहरू ९५ लाख, समपूरक कोष ३० लाख, मर्मत कोष ४० लाख,साझेदारी कोष १० लाख र जनता उपचार कोष १५ लाख बजेट विनियोजन गरिएको छ ।

हल्दिवारीको वाचा, झापाभरि माछा, किसानको खुसी पशुपालन र कृषि, फेरि पनि घुम्न जाऊँ हल्दिवारी गाउँ, एक सहकारी एक उत्पादन, हाम्रो लगानी घरघरमा स्वच्छ खानेपानी, एक घर एक माहुरीको घार, सबैलाई सीप सबैलाई रोजगार, हल्दिवारीका महिला विकासमा पहिला, समृद्धिका पालक हल्दिवारीका बालक, हामी सबैको इच्छा अनिवार्य निःशुल्क शिक्षा,बेसहाराको सहारा हल्दिवारी गाउँपालिका, दिगो विकासको आधार व्यवस्थित र जनमैत्री पूर्वाधार भन्ने १२ वटा नाराका साथ गाउँपालिकाले प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

गौरीगञ्ज गाउँपालिका

गौरीगञ्ज गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । 

गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले आर्थिक वर्ष २०७९/८० को लागि ४७ करोड २८लाख ८९ हजार ३ सय ७० रुपैयाँ अनुमानित बजेट प्रस्तुत प्रस्तुत गरेकी हुन् । 

उनले चालू व्यय तर्फ २५ करोड ८६ लाख २३ हजार, पुँजीगत तर्फ २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रुपैयाँ प्रस्तुत गरेकी थिइन । 

न्यौपानेका अुनसार आय तर्फ नेपाल सरकार समीकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान १८ करोड ९३ लाख, राजस्व बाँडफाँड सङ्घीय सरकार ९ करोड ६२ लाख ३२ हजार, प्रदेश सरकार समीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रुपैयाँ र अल्या आन्तरिक श्रोत रु २ करोड ७ लाख रहेको छ ।

त्यस्तै गौरीगंज गाउँपालिकाको प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ ७ करोड, पुँजीगत तर्फ २ करोड २५ लाख, कृषिमा ७५ लाख, पशु सेवामा ३५ लाख, पर्यटनमा २ लाख, सहकारीमा ३ लाख, शिक्षामा २ करोड, स्वास्थ्यमा १ करोड १० लाख, युवा तथा खेलकुदमा १५ लाख, पूर्ण सरसफाइमा ३ लाख, सहरी विकासमा २० लाख, सडक र पुल निर्माण २ करोड १५ लाख, भवन निर्माणमा २५ लाख, विद्युतमा ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

कमल गाउँपालिका

कमल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि ७१ करोड १२ लाख ३३ हजार रुपैयाँभन्दा बढीको बजेट गाउँ सभामा पेस गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष प्रमीला न्यौपाने तिवारीले आज गाउँ सभामा आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेस गरेकी हुन् ।

प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ ३ करोड ६९ लाख ६० हजार, सामाजिक विकासतर्फ २८ करोड २२ लाख ९७ हजार ५०० र पूर्वाधार विकासतर्फ २६ करोड २० लाख ८७ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५१ लाख २० हजार, संस्थागत सुशासनतर्फ ११ करोड १७ लाख ६८ हजार र पर्यटनतर्फ १ करोड रुपैयाँ विनियोजित बजेट उपाध्यक्ष तिवारीले सभामा प्रस्तुत गरेकी हुन् ।

नागरिकले तिरेको करबाट नै सबल र सक्षम स्थानीय तह निर्माण हुने भएको भन्दै बजेट मन्तव्यमा उपाध्यक्ष तिवारीले नागरिकको विकासप्रतिको सकारात्मक सोच र चाहना स्थानीय आवश्यकता पहिचान, सामाजिक, आर्थिक र गतिविधिलाई नागरिक मैत्री बनाउने गरी बजेट निर्धारण गरेको बताइन् ।

प्रस्तुत बजेट कार्यान्वयनका लागि गाउँपालिकाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७९ र स्थानीय सञ्चित कोषमा आय तथा खर्च गर्नका लागि बनेको विनियोजन विधेयक २०७९ तथा सोसँग सम्बन्धित विभिन्न अनुसूचीहरू समेत स्वीकृतिका लागि सभा समक्ष पेस गरिएको थियो ।

त्यस्तै आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, खानेपानी तथा सरसफाइ र स्वच्छता विधेयक २०७९, भूमि विधेयक २०७९, वन विधेयक २०७९, कृषि तथा पशुपन्छी विधेयक २०७९, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०७९, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा सञ्चालन कार्यविधि २०७९ र सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार्यविधि २०७९ समेत सभामा पेस गरिएको छ ।

कचनकवल गाउँपालिका 

कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष नवराज भट्टराईले शुक्रबार भएको गाउँ सभामा आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेस गरेका हुन् ।

उपाध्यक्ष भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि तथा पशुपन्छीतर्फ एक करोड ५० लाख रुपैयाँ, शिक्षामा एक करोड, स्वास्थ्यमा १३ करोड ५० लाख, खानेपानीमा ५० लाख, वन, वातावरण, संस्कृति तथा पर्यटनमा ५० लाख, खेलकुदमा २० लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा ५० लाख र भौतिक पूर्वाधार, सडक निर्माण ,भवन निर्माण एवं स्तरोन्नतिमा ५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै फोहोर मैला व्यवस्थापनमा पाँच लाख, नदी नियन्त्रण तथा तटबन्धमा ५० लाख, गाउँपालिका साझेदारीमा एक करोड, सुशासन तथा संस्थागत क्षमता विकासमा १५ लाख, विपद् व्यवस्थापनमा ३० लाख, मर्मत सम्भारका एक करोड, सूचना प्रविधि तथा सञ्चारमा २० लाख, न्यायिक समितिमा १५ लाख र विद्युत् विस्तार तथा वैकल्पिक ऊर्जाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँ सभाको प्रदेश नं १ का भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरेका थिए ।

झापा गाउँपालिका

झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५० करोड ८१ लाख ५३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

झापा गाउँपालिकाको बाह्रौँ गाउँ सभामा उपाध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेकी हुन् ।

झापा गाउँपालिकाको चालु आर्थिक वर्षमा २०७८–७९ मा ४५ करोड ७४ लाख ५ हजार ५ सयको बजेट रहेको थियो । आगामी आर्थिक वर्षका लागि ५ करोड ७ लाख ४८ हजार बजेट बढी ल्याएको हो । 

आय तर्फ सङ्घीय राजश्व बाँडफाँड प्राप्त हुने ९ करोड ९८ लाख ६ हजार , सङ्घीय सशर्त अनुदान २० करोड ९७ लाख , सङ्घीय समीकरण अनुदान १२ करोड ४९ लाख , सङ्घीय समपूरक अनुदान १ करोड ६० लाख , सङ्घीय विशेष अनुदान १ करोड , प्रदेश समीकरण अनुदान ७३ लाख ४६ हजार , प्रदेश राजश्व बाँडफाँड ४२ लाख २४ हजार ५ सय , प्रदेश सशर्त अनुदान १ लाख २३ हजार , प्रदेश समपूरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ६० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

व्ययतर्फ प्रस्तुत बजेटमा पूर्वाधार विकास कार्यक्रमतर्फ ११ करोड ६७ लाख ८९ हजार ५ सय , आर्थिक विकासतर्फ २ करोड ०६ लाख , वन वातावरण विपद् तथा सरसफाइतर्फ ६ लाख , संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ १४ लाख , सामाजिक विकासतर्फ ४ करोड २० लाख ४१ हजार , सङ्घीय सशर्त अनुदान २० करोड ९७ लाख , सङ्घीय विशेष अनुदान १ करोड , सघीय समपूरक अनुदान १ करोड ६० लाख , प्रदेश सशर्त अनुदान १ लाख २३ हजार , प्रदेश समपूरक अनुदान १ करोड र चालु खर्चतर्फ ८ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाले पनि आर्थिक बर्ष २०७९/८०का लागी कुल ५६ करोड ३३ लाख २४ हजार ३ सय ४० रुपैयाँको बजेट ल्याएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट पालिकाहरुले सभामा पेस गरेका हुन् ।