काठमाडौं / नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको नेतृत्व गरेका माधव नेपालको पालामा गणतन्त्र स्थापनापछि अध्यादेश मार्फत पहिलो बजेट ल्याइएको थियो ।

व्यवस्थापिका संसद् बहाल रहेकै अवस्थामा अध्यादेशबाट बजेट सार्वजनिक गरिरहदा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६७/६८ का लागि २०६७ मंसिर ४ गते प्रस्तुत गरेका थिए । 

OM Sai Pathibhara Hospital

बजेट पेश गर्ने प्रकृयाबारे सरकार र प्रतिपक्षीबीच विवाद भएपछि अर्थमन्त्री पाण्डेमाथि नेकपा माओवादीका सांसदबाट संसद्मा नै हातपातको प्रयास भएको थियो ।

माओवादीले पाण्डेमाथि गरेको सो आक्रमण हुँदा बजेट वक्तव्य रहेको ब्रिफकेस खोसाखोस भएर च्यातिएको थियो भने केही सांसदहरूका लुगा समेत च्यातिएका थिए । 

घटनापछि तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले संसद्को बैठक अन्त्य गरे पछि मन्त्रिपरिषद्को बैठकले व्यवस्थापिका संसद्को अधिवेशन अन्त्य गर्दै बजेट अध्यादेशबाट ल्याउने निर्णय गरेको थियो । 

त्यो बजेट राष्ट्रिय सहमतिमै ल्याउन खोजिए पनि संसद्मा अनपेक्षित घटना भएपछि बाध्यतावश अध्यादेशमार्फत ल्याउनुपरेको थियो । 

अघिल्लो दिन बजेट भाषण गर्न दिने भनेर माओवादी नेताहरूले सहमति जनाएको तर उक्त सहमतिलाई संसदमा उल्लंघन गरेको तत्कालीन अर्थमन्त्री पाण्डेले बताएका छन् । 

पेस्की बजेटले अत्यावश्यक खर्च धान्नसमेत मुस्किल हुने र कर्मचारीको तलबसम्म रोकिने अवस्था आएपछि संसद छलेर भएपनि बजेट ल्याउनु बाध्यता रहेको समेत पाण्डेले बताएका छन् । 

नेपालको संसदीय इतिहासमा पहिलो पटक भएको यस्तो घटनामा नेकपा माओवादीका सांसदहरुले गरेको व्यवहार अमर्यादित, अशिष्ट र संसद्को मर्यादाको विपरीत रहेको भन्दै त्यसको चौतर्फी आलोचना भएको थियो ।

संसदीय इतिहासको कालो दिनका रुपमा स्मरण गर्न झडपका कारण च्यातिएको ब्रिफकेस र कच्याककुचुक परेको बजेटलाई राष्ट्रिय सङ्ग्रहालयमा राख्ने भनेर सरकारले घोषणा गरेको थियो ।

सरकारले घोषणा गरेपनि संसद् सचिवालयलाई भने उक्त ब्रिफकेस र कच्याककुचुक भएको बजेट कहाँ छ भन्ने अहिले सम्म थाहा नभएको पाइएको छ ।  

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उक्त ब्रिफकेस बारे संसद् सचिवालयलाई कुनै जानकारी नरहेको बताएका छन् ।

राष्ट्रिय अभिलेखालयका सूचना अधिकारी कुमार श्रेष्ठले उक्त ब्रिफकेस र त्योसँग सम्बन्धित कुनै विवरण अभिलेखालयमा नरहेको बताएका छन् ।

त्यस्तै, राष्ट्रिय संग्रहालय , छाउनीका सूचना अधिकारी सुवासकृष्ण डङ्गोलले पनि सङ्ग्रहालयमा उक्त ब्रिफकेस नराखिएको बताएका छन् ।