काठमाडौं / अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसद्मा पेस गरेका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिन अघि संघीय संसद्मा पेस गर्ने व्यवस्था बमोजिम शर्माले  आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । 

चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा देशभर ४ सय २७ किलोमिटर सडक कालोपत्रे भएको छ भने पाँच सय २० मेगावाट विद्युत् उत्पादन भएको छ । त्यस्तै, ८० पुल, १ सय ५० किमि रेल्वे ट्रयाक बेड, १ सय ५४ सर्किट किमि विद्युत् प्रसारण लाइन र एउटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएको छ । 

OM Sai Pathibhara Hospital

मुलुकभर २९ वटा अस्पताल, अस्पतालसहित ३२ वटा स्वास्थ्य संस्था ,चार हजार एक सय ५० शय्या र सात हजार ८० स्वास्थ्य जनशक्ति थपिएका छन्  । फागुन मसान्तसम्ममा २० तारे होटेल र पर्यटन स्तरका १२ होटल , तारे स्तरमा १ हजार ८ सय ७५ बेड र पर्यटकस्तरीय होटेलमा ६ सय ८७ बेड थप भएका छन् । 

चालू आवको आठ महिनामा ९५ खेलग्राम र सघन सहरी विकास कार्यक्रम अन्तर्गत १ दशमलब २ किमि ढल तथा १ सय ६२ किमि सतह नाला निर्माण भएका छन् । चालू आवको आठ महिनामा १ हजार ५ सय ५७ किलोमिटर अप्टिकल फाइबर बिछ्‌याइएको छ भने अप्टिकल फाइबर १२ हजार १ सय ३९ किमि पुगेको छ । 

फागुनसम्ममा २५ स्थानीय तहका कार्यालय, १ सय ५० वडा कार्यालय, १ सय २० सामुदायिक विद्यालय र २ सय २२ स्वास्थ्य केन्द्रमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिएको छ । 

फागुन मसान्तसम्ममा १ लाख ८९ हजार २ सय ३० फुसका छानालाई जस्तापाताले विस्थापन गर्न आवास संख्या निर्धारण गरिएको छ । यसै अवधिमा १ लाख ३७ हजार लाभग्राही , १ लाख २६ हजार ६ सय ९८ लाभग्राहीसँग सम्झौता भएको छ  र २४ हजार ५ सय ९७ आवास इकाइको निर्माण सम्पन्न भएको छ । 

फागुन सम्ममा कुल जडित विद्युत् क्षमता ३० प्रतिशतले बढेर २ हजार २ सय ५ मेगावाट पुगेको छ भने गत असारसम्ममा कुल जडित विद्युत् क्षमता १ हजार ६ सय ८५ मेगावाट रहेको थियो । 

विद्युत्मा पहुँच हुने नागरिकको जनसंख्या १ प्रतिशत विन्दुले बढेर ९४ प्रतिशत पुगेको छ । विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ५२ लाख २८ हजार (सामुदायिक संस्थाबाहेक) पुगेको छ । सामुदायिक अन्तर्गत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या करिब ५ लाख ८० हजार रहेको छ । 

आधारभूत खानेपानीको पहुँचमा पुगेको जनसङ्ख्याको दर ० दशमलब १४ प्रतिशत बिन्दुले बढेको छ भने असारसम्ममा आधारभूत खानेपानीको पहुँचमा पुगेको जनसंख्या ९३ दशमलब २१ प्रतिशत रहेकोमा फागुन ०७८ मा आइपुग्दा ९३ दशमलब ३५ प्रतिशत पुगेको छ । 

फागुन मसान्तसम्ममा थप ४२ हजार ८ सय ५७ जनसंख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका छन् । थप ९२ हजार ५ सय ५ व्यक्ति खानेपानी तथा सरसफाइ सेवाबाट लाभान्वित भएका छन् । चालू आवको फागुन मसान्तसम्ममा थप २५ हजार ९ सय ८९ जनसंख्या मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । 

फागुन मसान्तसम्ममा टेलिफोन घनत्व ९ दशमलब ५६ प्रतिशत विन्दुले बढेर १३९ दशमलब ८६ प्रतिशत र इन्टरनेट ग्राहक घनत्व ३४ दशमलब ११ प्रतिशत बिन्दुले बढेर १३० दशमलब ३ पुगेको छ  भने यस अवधिमा ४७ स्थानीय तहमा फोरजी सेवाको पहुँच विस्तार भएको छ । 

चालू आवको फागुन मसान्तसम्ममा ७ लाख ८ हजार २ सय ८७ सूचीकृत बेरोजगार मध्ये ७१ हजार ३ सय २४ जनालाई रोजगारी दिइएको छ । रोजगार संयोजक ६ सय ९९ र प्राविधिक सहायक ६ सय ७३ गरी जम्मा १ हजार ३ सय ७२ जना रोजगार सेवा केन्द्रमा कार्यरत छन् । 

सरकारले यस अवधिमा ६ हजार ६ सय ३० जनालाई सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । े१६ जिल्लामा सञ्चालित तालिमबाट १० हजार युवा लाभान्वित भएका छन् ।

चालू आर्थिक वर्षमा उपभोग दर ११ दशमलब ५ प्रतिशतले बढेको छ । चालू आवमा कुल गार्हस्थ्य उत्पादन ९जिडिपी०मा उपभोगको अंश १ दशमलब ६ प्रतिशत बिन्दुले घटेर ९० दशमलब ७ प्रतिशत रहने अनुमान गरिएको छ  भने गत आवमा जिडिपीमा उपभोगको अंश ९२ दशमलब ३ प्रतिशत रहेको थियो । 

जिडिपीसँग कुल गार्हस्थ्य बचतको अनुपात ९ दशमलब ३ प्रतिशत रहेको छ । चालू आवमा कुल गार्हस्थ्य उत्पादनसँग कुल राष्ट्रिय बचतको अनुपात ३२ प्रतिशत रहने अनुमान छ । जुन गएको आवको तुलनामा १ दशमलब ३ प्रतिशत बिन्दुले कमी हो ।

चालू आवमा कुल लगानी १८ दशमलब १ प्रतिशत वृद्धि भई १८ खर्ब सात अर्ब २९ करोड पुग्ने अनुमान गरिएको छ । चालू आवमा जिडिपीसँग कुल लगानीको अनुपात ३७ दशमलब ३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

चालू आवमा बचत र लगानीको अन्तरमा सीमान्त सामान्य भई २८ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष ०७७र७८ मा बचत र लगानीको अन्तर २८ दशमलब १ प्रतिशत रहेको थियो ।