काठमाडौं / बैंकिङ प्रणालीमा तरलता अभाव चुलिँदै जाँदा बैंकहरूले ६४ खर्ब ११ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको एसएलएफ लिएका छन् । बैंकहरूले साउनदेखि सोमबार सम्म स्थायी तरलता सुविधा राष्ट्र बैंकबाट लिएका हुन् । 

बैंकहरूले ३ हजार ४०८ वटा कारोबारबाट उक्त रकम अल्पकालीन सापटीको रुपमा लिएका हुन् । बैंकहरूले सरकारी ऋणपत्र धितोमा राखेर एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । 

OM Sai Pathibhara Hospital

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् भने यसलाई ७ दिनका लागि ७ प्रतिशत ब्याजदरमा लिने गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अहिलेसम्मको सबैभन्दा बढी चैत २८ गते बैंक तथा वित्तीय संस्थाले ४९ वटा कारोबारबाट १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।

ब्याजदर महँगो पर्ने भएका कारण पनि बैंकहरूले यस्तो सेवा कम लिने गरेका छन् । बैंक तथा वित्तीय संस्थामा तरलता संकट चुलिएपछि केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी एसएलएफ सेवा लिन सकिन्छ ।

निक्षेप भन्दा बढी कर्जा विस्तार भएकाले बैंकहरूले अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि एक साताको लागि अल्पकालीन तरलता पूरा गर्न एसएलएफ लिएका हुन् ।

राष्ट्र बैंकका अनुसार वैशाख १३ गतेसम्म बैंकहरूको अन्तर बैंक ब्याजदर नै ७ दशमलब ०४ प्रतिशत पुगिसकेको छ । अन्तर बैंक कारोबार समेत गर्न नसक्ने अवस्था आएपछि बैंकहरूले एसएलएफ सुविधा लिन बाध्य बनेका हुन् ।