बिर्तामोड / अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थको मूल्य बढेपछि आयातमा कठिनाइ खेपीरहेको सरकारले धरापमा रहेको अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न विलासिताका वस्तु लगायतको एलसीमा मार्जिन लगाएको थियो । 

सरकारले विभिन्न वस्तुको आयातमा कडाइ गर्दै मार्जिनको अनिवार्य व्यवस्था गरेपनि वजारमा ति विलासिता लगायतका वस्तुको अभाव नदेखिनु निकै नै शंकास्पद देखिएको छ । 

OM Sai Pathibhara Hospital

भन्सार विभागको तथ्यांक अध्ययन गर्दा मार्जिन अनिवार्य गरेपछि विभिन्न बस्तुको आयत घटेको देखिएपनि बजारमा भने वस्तुको अभाव नभएका कारण सिमा क्षेत्रमा त्यस्ता वस्तुको अवैध कारोबार बढ्दै गएको आकलन गर्न सकिन्छ । 

मार्जिन राखेर मात्र वस्तुको आयात गर्नु पर्ने भएपछि फाइदामा मात्र चल्न पल्केका व्यापारीले अवैध आयात र तस्करीको बाटो अपनाउन थालेको देखिएको हो । 

भन्सार कार्यलय विराटनगरको तथ्यांक अनुसार गत आर्थिक वर्षको माघदेखि चैत महिनामा विराटनगर नाकाबाट ३१ करोड ४३ लाख मूल्यको ४ हजार १५५ टन दाल तथा गेडागुडी आयात भएको देखिन्छ । 

चालु आवको सोही अवधिमा १८ करोड १ लाख ९० हजार बराबरको २ हजार ७० टनमात्र दाल तथा गेडागुडी आयात गरिएको तथ्यांकले देखाएको छ।

गत आवको माघदेखि चैतसम्ममा भारतबाट सल, दोसल्ला र पछ्यौराको आयात १४ करोड ५८ लाख ९० हजार मूल्यको ३४ लाख ४० हजार ६३६ थान भएको थियो । तर चालु आवको सोही अवधिमा ७ करोड ४८ लाख ७५ हजार बराबरको १८ लाख २५ हजार ५१० थान मात्र वैध आयात भएको छ ।

सरकारले विलासी वस्तु भन्दै शृंगार प्रसाधनका वस्तुमा समेत शतप्रतिशत मार्जिनको व्यवस्था गरिरहँदा यस्ता सामानको चोरीपैठारी व्यापक हुन सक्ने विज्ञहरूले अनुमान लगाएका छन् । 

शतप्रतिशत मार्जिन लगाउँदा समेत आधिकारिक आयात वृद्धि हुन्छ भने प्रतिबन्ध लगाउँदा अवैध आयात हुनसक्ने तर्क विश्लेषकहरूले राख्ने गरेका छन् ।

भन्सार कार्यालयको तथ्यांक अनुसार गत आवको माघदेखि चैतसम्ममा ३ करोड ५ लाख मूल्यको ३३ टन शृंगार प्रसाधनका सामग्रीको आयात गरिएको थियो । चालु आवको सोही अवधिमा ३ करोड ६८ लाख मूल्यको ४४ टन आयात गरिएको छ । 

हरेक वर्ष होजियारी कपडाको आयात २० प्रतिशतले वृद्धि हुने गरेको भन्सारले जनाएको भएपनि तथ्यांकमा भने त्यसको आयात घटेको देखिएको छ ।

तथ्याङ्कअनुसार गत आवको तेस्रो त्रैमासिकका बेला विराटनगर भन्सारबाट २४ करोड ३३ लाख मूल्यको ९८६ टन होजियारी कपडाको आयात गरिएको छ । चालु आवको सोही अवधिमा भने १५ करोड ८९ लाख ९२ हजार मूल्यको ९१७ टनमात्र आयात गरिएको पाइएको छ ।

यही विषयप्रति गम्भीर हुन आवश्यक ठान्दै केन्द्रीय सरकारी अधिकारीको उपस्थितिमा चैत र वैशाख महिनामा जिल्ला राजस्व चुहावट समितिले छलफल थालेको छ । 

काठमाडौंदेखि विराटनगर सम्मका अधिकारीको सहभागितामा भएको छलफलमा पूर्वमा बढ्दै गएको अवैध आयातलाई नियन्त्रण गर्न आवश्यक ठान्दै अनुसन्धान थालेका छन् ।

सीमा स्रोतका अनुसार पूर्वका भारतीय सीमान्त क्षेत्रबाट गरिने खाद्यान्न, चिनी, कपडा, होजियारीका सामान, खाने तेल लगायतका चोरी आयातलाई सिमानामा तैनाथ प्रहरीले नै संरक्षण गर्ने गरेको समेत शंका गरिएको छ ।

तर सशस्त्र प्रहरीका प्रदेश १ का डीआइजी कमल गिरी भने अवैध आयातलाई सशस्त्र प्रहरीले पूर्ण नियन्त्रणमा लिएको दाबी गरेका छन् । 

चुनावका पूर्व सन्ध्यामा सबैको ध्यान राजनीतिक सरगर्मीतिर रहेको समयमा सीमा क्षेत्रमा सुरक्षा बलकै संरक्षणमा अवैध आयात मौलाउँदै आएको देखिएको छ । 

यसरी नै मार्जिनको व्यवस्था गरेपनि घट्दो आयात र बजारमा बस्तुको अभाव नदेखिएपछि सिमा नाकामा प्रहरी कै मिलेमत्तोमा वस्तुको अवैध आयात अझै मौलाउँदै गएको छ । 

निवार्चन नजिकिएपछि सवैको ध्यान चुनावमा गएको समयमा सिमा नाकामा सुरक्षा र रेखदेखका लागि खटिएका प्रहरीले नै अवैध आयातमा सहयोग गरेपछि यो विषय गम्भिर बनेको छ ।