बिर्तामोड / अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै भारतमा नै विद्युत संकट भएपछि नेपालमा पनि विद्युत संकट देखिने भएको छ । 

भारतबाट आवश्यक विद्युत खरिद गर्न नपाएको समयमा मनसुन नलागे उद्योग व्यवसायीले खेपीरहेको लोडसेडिङ सर्वसाधारणको घरसम्म पुग्ने संकेत देखिएको हो । 

OM Sai Pathibhara Hospital

नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार पानी परेकाले विद्युत् उत्पादन २०० मेगावाटले बढेपछि आम्दानी करिब ४ करोड रुपैयाँले बढेको थियो ।  

नेपालका विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता २२ सय मेगावाट भएपनि पुसदेखि जेठसम्म भने ८ देखि ९ सय मेगावाटमात्रै विजुली उत्पादन हुने गरेको छ । 

नेपालमा जलाशययुक्त भन्दा पनि धेरैजसो विद्युत् आयोजना पानीको बहाव (रन अफ रिभर) मा आधारित रहेका छन । बर्खायाममा अधिकतम विद्युत् उत्पादन गरेपनि हिउँदमा भने एकचौथाइभन्दा कम विजुली उत्पादन हुने भएपछि बजारको मागअनुसार बिजुली उत्पादन हुन सक्दैन ।

प्राधिकरणले भारतको एनटिपिसी विद्युत व्यापार निगम सँग प्रतियुनिट ४ दशमलब १६ भारुमा ३५० मेगावाट, पावर टेड्रिङ कम्पनीबाट ४१२ भारुमा ६५ मेगावाट र बिहार सरकारसँग पनि ६ दशमलब १८ रुपैयाँ भारुमा विजुली खरिद बिक्री गर्ने सम्झौता प्राधिकरणले गरेको छ ।

माघसम्म भारतले नेपाललाई दैनिक करिब ४ सय मेगावाटको बिजुली बिक्री गरेपछि मुलुकका उद्योगले नियमित बिजुली पाएका थिए ।

तर भारतले विजुलीको अभावका करण नेपाललाई थप बिद्युत् बिक्री गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले उद्योगलाई बिजुली दिन असफल भएको छ । खरिद मूल्य महँगो पर्ने भन्दै प्राधिकरणले भारतबाट विद्युत  खरिद नगरेपछि उद्योगी समस्यामा परेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने १८ रुपैयाँ भारुसम्ममा बिजुली खरिद गरेर उद्योगमा दिएको दाबी गर्ने गरेका छन् ।

शनिबार प्राधिकरणले एक्सचेञ्जमा ५०० मेगावाट विजुली खरिदका लागि ९६ बलकमा विडिङ गरेकोमा एउटा बलकमा पनि विजुली पाउन असफल बनेको थियो । भारतमा मात्रै नभई विश्व बजारमा ऊर्जा संकट परेकाले नेपाल समेत समस्या पर्दै आएको छ । 

विश्व बजारमा परेको उर्जा सङ्कटको असर उद्योगमा परपछि उद्योगी समस्यामा पर्दै आएका छन् । भारतमा १२ रुपैयाँमा विजुली खरिद गर्न विडिङ गर्दा समेत उर्जा पाउन नसकेको कारण उद्योगलाई विद्युतको अभाव भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल नेपालमा विद्युतको माग दैनिक १६ सय मेगावाट रहेको छ । हालको ८०० मेगावाटको उत्पादन ११ सय मेगावाट हुँदासमेत विजुलीको आपुर्तिमा प्रणालीमा समस्या देखिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले तत्काल ठूला उद्योगमा नियमित विजुली दिन नसक्ने जनाएको छ । आइतबारमात्रै नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संघ संस्थाले विज्ञप्ति जारी गर्दै ठूला उद्योगमा नियमित विजुली दिन आग्रह गरेका थिए ।

यता नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता भट्टराईले भने भारतबाट बिजुली आयात हुन नसके ठूला उद्योगमा विजुली नै दिन नसकिने बताएका छन् ।