झापा / सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

कार्कीका अनुसार विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले परीक्षणका रूपमा भन्दै यस्तो निर्णय गरेको हो ।

इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको कार्कीले बताए। सरकारले यसअघि आफू मातहतका कार्यालयमा दिइने इन्धन २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको थियो।

इन्धनमा ठूलो धनराशि बाहिरिएर विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले इन्धन खपत कम गर्ने विभिन्न उपायमा काम गरिरहेको छ।

पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाएको छ ।